उदयपुरमा ग्रामीण सडक क्षतविक्षत बनेपछि सवारीसाधन बीच बाटोमै अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

उदयपुरमा ग्रामीण सडक क्षतविक्षत बनेपछि सवारीसाधन बीच बाटोमै अलपत्र

उदयपुर । स्थानीय तहले दसैंअघि मर्मत गरि सन्चालनमा ल्याएका उदयपुरका ग्रामीण सडक केही दिनअघि आएको वर्षाले क्षति बिक्षत बनाएको छ । पालिकाहरूबीच सहज रुपमा यातायातका साधान चलाउन मिल्ने गरी सडक मर्मत गरिएको भए पनि बेमौसमी वर्षाले सडक भत्काउँदा सडक पुनः ठप्प भएका छन् ।

दसैंअघि पालिकाहरूले विभिन्न शीर्षकको बजेट कटाएर सडक मर्मत गरेका थिए । अचानकको वर्षापछिको बाढीपहिरोले गन्तव्यमा पुगेका र फर्किँदै गरेका आधा दर्जनभन्दा बढी यात्रुवाहक बस बाटोमै अलपत्र परेका छन् । सडक नियमित भएपछि यात्रु लिएर गएका ती बसहरू फर्किन नपाउँदा यातायात व्यवसायीहरू चिन्तित बनेका छन् । 

व्यवसायी मात्रै होइनन् दसैं मानेर सहर फर्किनेहरूले पनि यात्रामा सास्ती व्यहोरिरहेका छन् । पहाडी भेगका सडक ध्वस्त भएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन नचल्दा सवारीसाधन पाइरहेका छैनन् । यस्तै, सदरमुकाम र गाउँबीचको नियमित यातायात सेवा पनि अवरुद्ध भएको छ ।

कतिपय स्थानमा व्यवसायी आफैले सडक मर्मत गर्न थालेका छन् । गाईघाट–मुर्कुची–पुँवारे–भुटार–लाफागाउँ खण्डमा रोकिएका दुई वटा यात्रुबाहक बस निकाल्न सोमबार व्यवसायीहरूले सदरमुकामदेखि स्काभेटर पठाएको हिमाली केन्द्रका महासचिव उमेश बस्नेतले बताए । बाटोमा अड्किएका २–३ वटा बस तथा ट्याक्टर भने एक दिनअघि निकालिएको छ । यातायात व्यवसायीहरू आफ्नै खर्चमा स्काभेटर लगेर सडक मर्मत गरी थुनिएका बस र ट्याक्टर निकाल्न थालेको बस्नेतले बताए । लाफागाउँ–जाँते खण्डमा पनि दुई वटा बस अलपत्र परेको छ । सडक बिग्रेका कारण बीच बाटोमै रोकिएका हुन् । बस रोकिएको ठाउँ भुटारदेखि २०–२५ किलोमिटर उत्तरमा पर्छ, तर स्काभेटर त्यहाँसम्म पुग्न आधा दर्जन भन्दा बढी ठाउँमा मर्मत गर्नु पर्ने केन्द्रले जनाएको छ । 

सडक मर्मतमा स्थानीय तहको बेवास्ता
सडक मर्मतमा स्थानीय तहहरूले बेवास्ता गरेको व्यवसायी तथा यात्रुहरूको गुनासो छ । गाउँगाउँमा सरकार भए पनि दायित्व पूरा गर्नेतर्फ जनप्रतिनिधिले चासो नदिँदा सडकको दुरावस्था कायमै रहेको व्यवसायीहरू बताउँछन् । सडक भत्केर बस थुनिएको एक साता बितिसक्दा पनि जनप्रतिनिधिले चासो नदिएपछि व्यवसायीले नै स्काभेटर पठाउनु परेको हिमाली यातायात केन्द्रले जनाएको छ । 

व्यवसायीका अनुसार वर्षाले सदरमुकामँग जोडिएका थुप्रै पहाडी भेगका सडकहरू कामै नलाग्ने गरी भत्किएका छन् । पहाडी भेगका सडकहरू बिना इन्जियिरिङ बनेका र कच्ची भएकाले सामान्य वर्षाले नै भत्काएर यातायात अवरुद्ध हुन पुग्छ । धेरैजसो सडकहरू माटो काटेर मात्र बनेका कारण सामान्य वर्षामै बगेर भत्कने गरेको छ भने कतिपय सडकहरूमा नाला नहुँदा पानीले गहिरो बनाउँदा गाडी चल्न नसक्ने अवस्थामा पुगेका छन् । छिमेकी जिल्ला खोटाङलाई सोझो यातायातले जोड्ने गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग ठाउँठाउँमा भत्कन पुगेर यातायात अवरूद्ध हुन पुगेको छ भने त्यससँग जोडिएका शाखा उपशाखा सडकहरू सबै ध्वस्त हुन पुगेपछि यातायात अवरुद्ध हुन पुगेको हो ।

गाईघाट–दिक्तेल सडकसँग जोडिएर उदयपुरका साविक खाँबु, रौता, आँपटार, रसुवा, बलम्ता, जाँते, ताम्लिछा जोडिएका कच्ची सडकहरू सबै भत्केर आवागमनमा कठिनाइ आएको छ । यस्तै लिमचुङबुङ गाउँपालिका र रौतामाइका आन्तरिक सडकहरू भत्केर ध्वस्त भएका छन् । ताप्ली र उदयपुरगढी गाउँपालिकाका आन्तरिक सडकहरू पनि अस्तव्यस्त भएका छन् । वर्षाले आन्तरिक सडक भत्काएका कारण ताप्ली गाउँपालिका केन्द्र रूपाटारसम्म पुग्न समेत हम्मेहम्मे भएको अध्यक्ष उद्धवसिंह थापाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);