तेजना पण्डित
काठमाडौं, १३ पुस । लामो समय चर्काचर्की र बिवादमा रुमलिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थाइ कमिटि बैठकले अन्त्यमा सर्वसम्मत रुपमा परिमार्जन सहित प्रतिवेदन पारित गरेको छ ।
अध्यक्षद्वयका तर्फबाट पेश भएको प्रतिवेदनमा उठेको प्रश्नमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको बैठकमा दिएको जवाफमा स्थायी कमिटि सदस्यहरुले चित्त बुझाउन नसकेपछि शुक्रबारका लागि सारिएको थियो । तर, शुक्रबार अध्यक्ष ओलीले सदस्यहरुका प्रश्नको नरम भएर जवाफ दिंदै सुझाव कार्यान्वयन गर्ने बताएपछि सर्वसम्मत सुझाव सचिवालयमा पठाउने निर्णय गरेको हो ।
मंसिर २९गतेवाट सुुरु भएको नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)को स्थाई कमिटी बैठक १४ दिनपछि सकिएको छ । बैठक सुरु हुँदा दुई अध्यक्षका तर्फबाट पुष्पकमल दाहालले २२ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए ।
अध्यक्ष द्वयको प्रस्तावमा फरक मत राख्दै नेता वामदेव गौतमले १६ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए । स्थाई कमिटि बैठक सुरु हुनुअघि अध्यक्षद्वयमाथि विधान अनुसार पार्टी नचलाएको, निर्णय प्रक्रियामा संस्थागत सहभागिता भन्दा दुई अध्यक्षमात्र हावी भएको, कमिटि प्रणालीलाई समाप्त पारेको, दैनिक कार्यसंचालनका लागि गठन भएको सचिवालयबाट निर्णय गर्दै हिडेको, स्थायी कमिटि बैठक समेत टार्दै हिडेको, केन्द्रीय कमिटि बैठक डाक्दै नडाकेको तथा नीतिगत निर्णय गर्ने पोलिटव्युरो गठन नैं नगरेको आरोप थियो ।
त्यस्तै भ्रतृ संगठन तथा जिल्लागत संगठनको एकता नगराएको, प्रदेशमा कमिटि घोषणा गर्दा पनि पारदर्शी प्रक्रिया अवलम्बन नगरेको लगाएतका आरोप दुबै अध्यक्ष माथि लागेका थिए ।
प्रधानमन्त्रीले सरकार संचालन प्रभावकारी नबनाएको, पार्टीसँग सल्लाह नैं नगरी सरकार संचालन गरेको, आफ्ना विरोधीलाई तह लगाउन सत्ताको दुरुपयोग गर्न थालेको सहितका गम्भीर अरोप लगाइएको थियो ।
झन एसिया प्यासिफिक समिटका नाममा युनिभर्सल पिस फेडेरेसनको कार्यक्रममा आयोजक बनेको, विदेशी पाहुनालाई सरकरका तर्फबाट डाकेको, धर्म प्रचारको गलत कार्यक्रममा सरकारले नैं स्थानीय तह तथा प्रदेशका जनप्रतिनिधिलाई डाकेको विषयमा त नेता भीम रावल सहितका नेताले मसला बनाएर सरकारलाई राष्ट्रिय स्वाधिनतामा खलल पु¥याएको अरोप लगाएका थिए ।
यस्तो पृष्ठभूमिमा सुरु भएको स्थायी कमिटि बैठकमा अध्यक्ष ओली र नेता बामदेव गौतमबीच त सार्वजनिक टिकाटिप्पणी समेत सुरु भएको थियो । १३ मध्ये ११ दिन लगातार बैठक बसेको नेकपा बैठकपछि भने ती सबै विवाद मथ्थर भएका छन् । सुझाव सहितको प्रतिवेदन तयार पार्न नेकपाले कार्यदल गठन गरेको छ ।
भिडियाे हेर्नुहोस् :
बैठकले रामबहादुुर थापा बादलको संयोजकत्वमा योगेश भट्टराई, बर्षमान पुुन, लेखराज भट्ट लगायतको नौ सदस्यीय कार्यदल बनाएको छ । उक्त कार्यदलले संगठनात्मक कुरामा नमिलेका कुराहरु पुुनरावलोकन गर्ने, पार्टी एकीकरणमा जिल्ला कमिटि जन संगठनको एकताको स्पष्ट मापदण्ड निर्धारण गर्ने, पार्टी केन्द्रीय कमितिको कार्यबिभाजन गर्ने, पोलीटव्युुरोको मापदण्ड निर्धारण गर्नेसहितका जिम्मा पाएको छ । कार्यदलले सुझाव सचिवालयमा पेश गर्नेर सचिवालयले त्यसको कार्यान्वयन गर्ने समझदारी भएको छ ।
मुुलुुक हाक्न सक्ने जिम्मेवारी र समाजवाद मर्म बोक्न सक्ने संगठन बनाउनु महत्वपूर्ण कुरा भएको भन्दै पार्टी एकतापछी भएको शुुक्रवारको निर्णय उपलव्धिमुलक भएको नेता घनश्याम भूसालको भनाई छ ।
सचिवालयले गर्न नसकेका वा नचाहेर थाती राहेका काम स्थायी कमिटिले गरेको भन्दै सचिवालयले गरेको निर्णयमा अध्यक्षहरु अन्य नेताहरु प्रतिबद्ध भएर लाग्न सके पार्टी अव अगाढी बढ्ने नेता भुषालको भनाई छ ।
धेरै लामो छलफल र विवादबाट नेकपा अन्तमा सहमतिमा पुगेको छ र सहमति इमान्दार आवश्यकता बोधमा नेताहरु सचेत बने नेकपा सुदृढ बन्न सक्नेमा दुइमत छैन ।




