कस्तो निर्देशन दिँदा मेलम्चीको पानी चाँडै आउँछ मन्त्रीज्यू ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कस्तो निर्देशन दिँदा मेलम्चीको पानी चाँडै आउँछ मन्त्रीज्यू ?

melamchi-khane-pani-bina magar

काठमाडौं, १३ पुस । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले इटालियन कम्पनी सीएमसीले मेलम्ची आयोजनाको काम गर्ने/नगर्नेबारे अझै निश्चित नभएको जवाफ दिएकी छन् । संसद्को विकास तथा प्रविधि समितिमा सांसदहरुले उठाएको प्रश्नहरुको बिहीबार जवाफ दिँदै उनले औपचारिक रुपमा ठेकेदारसँग छलफल गर्न बाँकी रहेको जनाइन् ।

‘नयाँ वर्षका लागि ठेकेदार इटाली गएको छ, फर्केर आएपछि थप छलफल हुन्छ’ उनले भनिन्, ‘उसले काम गर्छु भनेर पत्र पठाएको छ, तर, गर्ने/नगर्नेबारे अहिले केही भन्न सकिँदैन।’ सीएमसीबाटै काम गर्ने अन्तिम प्रयास भने जारी रहने उनले बताइन्। अदृश्य निर्णय भएको संकेत गर्दै मन्त्री मगरले भनिन्, ‘ठेक्का तोड्दा आयोजना लम्बिने सम्भवना बढ्छ। फकाएर भए पनि यसैबाट काम गराउने प्रयास जारी रहन्छ।’

मेलम्ची आयोजनाको साइडमा काम गरिराखेका स्थानीय ठेकेदार पनि सक्षम रहेको भन्दै उनले यदि सीएमसीले काम नगरे अन्तिम विकल्प पनि सोचिराखेको बताइन्। ‘स्थानीय ठेकेदारहरु दक्ष छन्, यदि सीएमसीले काम नगरे स्थानीयलाई नै परिचालन गर्छु’ उनले भनिन्, ‘स्थानीय ठेकेदारलाई ठेक्दा दिँदा प्रक्रिया र विधि पुर्‍याउन पर्ने हुन्छ, ढिला पनि हुनसक्छ।’

सांसद रामबहादुर विष्टले शपथ लिनेबित्तिकै प्रत्येक खानेपानी मन्त्रीले मेलम्चीको पानी ल्याउने सीमा निर्धारण गरेर जनता र सरकारलाई झुक्याउने गरेको आरोप लगाए। ‘कुनै मन्त्रीले दसैंअघि, कुनैले नयाँ वर्षमा पानी ल्याउँछौं भनेर झुट बोल्दै आएका छन्’ उनले आक्रोशित हुँदै भने, ‘किन यस्तो हुन्छ?’

सांसद विष्टले खानेपानी तथा सरसफाई सचिव गजेन्द्र ठाकुरले पनि विकास समिति आएर ६० दिनभित्र पानी ल्याउँछौं भनेर जनतालाई झुक्याएको आरोप लगाए। आर्थिक रुपमा टाट पल्टेको कम्पनीलाई पुन: काममा लगाउने भन्ने मन्त्रीको भनाइमा कुनै विश्वसनीयता नभएको उनले बताए। ‘एकातिर टाट पल्टेको भन्ने अनि अर्कोतिर काममा लगाउँछौं भन्ने’, उनको प्रश्न थियो, ‘टाट पल्टेकोलाई कसरी काममा लगाउन मिल्छ?’

पूर्वमन्त्री एवं सांसद टोपबहादुर रायमाझी भने गलत सूचना दिएर सरकार र मन्त्रीलाई झुक्याउने गरेको भन्दै कर्मचारीमा खनिए। ‘किन कर्मचारीले झुटा बोल्छन्, सत्य विवरण प्रस्तुत गर्दा आखिर के हुन्छ?’ उनले भने, ‘झुट बोल्दा सरकारको विश्वसनीयतामाथि प्रश्न उठ्छ।’ सीएमसीले अन्तिम अवस्थामा पुगेर आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्नुभित्र रहस्य पत्ता लगाउन उनले माग गरे।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);