जनकपुरधाम, १३ पुस । प्रदेश राजधानीमै घर भएर पनि प्रदेशसभा सचिवालयबाट घरभाडा लिइरहेका सांसदहरूले नियमविपरित निकासा भएको रकम फिर्ता हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव पनि त्यस्तै सांसदमध्येका एक हुन्। उनी भन्छन्, ‘प्रदेशसभा सचिवालयमा मैले बुझाएको सम्पत्ति विवरणमा स्पष्ट उल्लेख छ कि मेरो घर जनकपुरमा छ। घरभाडावापत पैसा पठाउनुअघि सचिवालयले कहिल्यै सोधेन कि जनकपुरमा बस्न मैले निजी घर प्रयोग गरेको हो कि भाडाको। तलब, भत्ता, स्वकीय सचिवालयको खर्चसँगै घरभाडावापतको रकमसमेत एकमुष्ठ पठाइदिएपछि हामीले थाहै पाउन सकेनौं। यदि नियमविपरीत मलाई सुविधा दिइरहेको छ भने त्यो रोकिनुपर्यो।’
संसदीय दलका नेताको हैसियतले उनी घरभाडावापत मासिक १८ हजार रुपैयाँ प्रदेशसभा सचिवालयबाट बुझिरहेका छन्। प्रदेशसभा सचिवालयले विपक्षी दलका नेता र सत्तापक्षका प्रमुख सचेतकलाई घरभाड वापत मासिक २० हजार, विपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूलाई मासिक १८ हजार, दलका प्रमुख सचेतक र सचेतकहरूलाई मासिक १६ हजार तथा अन्य सांसदहरूलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइरहेको छ।
जनआफ्नै नाउँमा रहेको आलिशान महलमा बस्ने नेकपा सांसद किशोरी साहले पनि घरभाडा वापत मासिक १५ हजार रुपैयाँ बुझिरहेका छन्। आफ्नै घरमा बसिरहेपनि प्रदेशसभा सचिवालयबाट आपूmले घरभाडावापतको रकम पाइरहेको पनि उनलाई थाहा छ। तर, आफ्नै घरमा बसेर पनि घरभाडावापतको रकम बुझ्ने अन्य सांसदले केही नबोलेपछि आफु पनि चुपचाप सुविधा बुझिरहेको उनी बताउँछन्।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।