संसदीय दलका नेता छान्न सकस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जनकपुर,२१ माघ । प्रदेशसभाको प्रथम बैठक बस्न लागेको पूर्वसंध्यामा राजनीतिक पार्टीहरूले संसदीय दलको नेता छनोट गर्ने कसरतमा जुटेका छन् । शनिबार राजपा अध्यक्ष मण्डलका सबै नेता सहभागी रहेको बैठकले पनि दलको नेता छनोट गर्न सकेन । पार्टीका निर्वाचित प्रदेशसभा सदस्य सम्मिलित बैठक निष्कर्षमा पुग्न नसकेपछि अध्यक्ष मण्डलले छुट्टै बसेर टुंग्याउने जनाइएको छ।

जनकपुरस्थित होटल सिताशरणमा बिहान ११ बजेदेखि बसेको बैठक संसदीय दलको नेता चयन गर्ने विषयमा प्रवेश नगरी टुंगिएको थियो । बैठकमा सहभागी प्रदेशसभा सदस्यलाई सभामा आफ्नो मुद्दा कसरी दृढतासाथ राख्न सकिन्छ भन्नेबारे अध्यक्ष मण्डलले प्रशिक्षण दिएका थिए।

उक्त बैठकले प्रदेशसभा अध्यक्ष मण्डलको सदस्यमा सप्तरीबाट निर्वाचित नवलकिशोर साहको नाम सिफारिस गर्ने निर्णय गरेको छ । पार्टीको उक्त निर्णयसँगै साह सभामुखमा निर्वाचित हुने सम्भावना बढेको छ । सिट संख्याका आधारमा यस प्रदेशसभामा ठूलो पार्टी बनेको संघीय फोरमले मुख्यमन्त्री पाएपछि राजपासँग गठबन्धनगरी सरकार बनाउने र सभामुख राजपालाई दिने सम्भावना छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पनि दुवै पार्टीले गठबन्धन गरेका थिए।

यता, शनिबार नै प्रदेश पार्टी कार्यालयमा बसेको संघीय समाजवादी फोरमको बैठकले संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति नै गठन गरेको छ । पार्टी उपाध्यक्ष एवं प्रदेश अध्यक्ष रेणु यादवको संयोजकत्वमा गठित निर्वाचन समितिमा शम्भुनाथ झा र शेषनारायण यादवलाई सदस्य चयन गरिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा सम्पन्न बैठकले विधायक रामआशिष यादवको संयोजकत्वमा तीन सदस्यीय नियमावली मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा पारस साह र संजयकुमार यादव सदस्य छन्।

निर्वाचन समितिले आइतबार दिउँसो २ बजे निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र संसदीय दलका नेताका लागि इच्छुक प्रदेशसभा सदस्यले मनोनयन दर्ता गराउनुपर्ने छ । संसदीय दलका नेता छनोट गर्न विधानसम्मत प्रक्रिया अपनाउन उक्त समिति गठन गरिएको बैठकमा सहभागी विधायक विजय यादवले बताए।

फोरम संसदीय दलका नेता नै मुख्यमन्त्री हुने सम्भावना रहेकाले उक्त पार्टीमा दलका नेता छनोट हुन बढी नै तछाडमछाड हुने देखेर निर्वाचन प्रणालीमा गएको एक सांसदले बताए । तर, बैठकमा दलका नेता चयन गर्न पार्टी नेतृत्वलाई जिम्मा दिँदै कसैले आफ्नो नाम दाबी नगरेको बैठकमा सहभागी विधायक रामआशिष यादवले दाबी गरे।

प्रदेशसभामा तेस्रो ठूलो दल रहेको एमाले पार्टीमा संसदीय दलका नेता छनोट गर्न औपचारिक प्रक्रियामा नगए पनि विवाद ठूलै रहेको स्रोतको दाबी छ । पार्टीका विधायक शत्रुधन महतोले सभाको प्रथम बैठकपछि उक्त प्रक्रियामा जाने बताए । नेपाली कांग्रेसले मंगलबारसम्म मात्रै दलका नेता चयन हुने जनाएको छ । पार्टी नेता विमलेन्द्र निधि आइतबारै जनकपुर आएर छलफल सुरु गर्ने भएपनि प्रक्रियामा जाँदा मंंगलबारसम्म लाग्नसक्ने पार्टीका धनुषा अध्यक्षसमेत रहेका विधायक रामसरोज यादवले बताए।
१ सय ७ सदस्य रहेको प्रदेशसभामा संघीय फोरमको २९, राजपाको २५, एमालेको २१, कांग्रेसको १९, माओवादीको ११, संघीय समाजवादी पार्टीको १ र स्वतन्त्र १ सांसद छन्।

यी हुन् प्रथम बैठकको अजेण्डा
आइतबार बिहान ११ बजे बस्न लागेको प्रदेशसभाको प्रथम बैठकको लागि शनिबार सर्वदलीय बैठकबाट मुख्य अजेण्डा तय गरिएको छ । सोअनुसार प्रदेशसभा मातहतमा १३ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ भने फागुन २ गते सभामुखको निर्वाचन गर्ने सहमति भएको छ । उक्त दुवै प्रस्ताव आइतबारको प्रदेशसभा बैठकले पारित गर्नेछ।

सर्वदलीय बैठकले प्रदेशमा पहिलोपटक हुन लागेको संसदीय अभ्यासलाई मर्यादित बनाउन आवश्यक कार्यविधि पनि बनाएको छ । सभाको प्रथम बैठकमा दलका तर्फबाट बोल्न पाउने समयसीमा पनि निर्धारण गरिएको छ । प्रदेशसभामा प्राप्त सिट संख्याका आधारमा सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमलाई सबैभन्दा बढी १४ मिनेट, राजपा नेपाललाई १२ मिनेट, एमालेलाई १० मिनेट, कांग्रेसलाई ९ मिनेट, माओवादीलाई ६ मिनेट र संघीय समाजवादी पार्टी तथा स्वतन्त्र विधायकलाई ४ मिनेटको दरले बोल्न पाउनेगरी समय उपलब्ध गराउने निर्णय सर्वदलीय बैठकबाट गरिएको सचिवालय सचिव वंशीराज पौडेलले बताए।

उनका अनुसार शनिबार गठन भएको कार्यव्यवस्था परामर्श समितिको बैठक माघ २९ गते बिहान ८ बजे र प्रदेशसभाको बैठक सोही दिनको १ बजे आह्वान गर्ने प्रस्ताव आइतबारको बैठकमा पेश गरिनेछ ।यसैबीच आइतबार ११ बजे बस्न लागेको प्रदेशसभाको प्रथम बैठकको लागि सभास्थल शैक्षिक तालिम केन्द्रलाई दुलही झैं सिंगारिएको छ । प्रदेशसभाको स्थायी सभाहल जस्तै नयाँ भौतिक संरचना निर्माण गरिएको उक्त स्थानमा सभाहलसँगै संसदीय समिति तथा सचिवालयको कार्यालय पनि व्यवस्थापन गरिएको छ। आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);