रिमाललाई नारायणकाजीको प्रश्न, तपाईं परमेश्वरको प्रतिनिधि हो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रिमाललाई नारायणकाजीको प्रश्न, तपाईं परमेश्वरको प्रतिनिधि हो ?

bishnu rimal-narayankaji

काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी समिति बैठकमा नेताहरूबीच आरोप–प्रत्यारोप जारी छ । शुक्रबारको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालप्रति कटाक्ष गर्दै ‘परमेश्वरको प्रतिनिधि’ भएको टिप्पणी गरे ।

‘एकजना कमरेडले बिहीबारको बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना गर्नु आत्मनिन्दा हो, त्यति विनम्र हुनै सकिँदैन भन्नुभो । त्यस्तो अभिव्यक्ति गलत छ,’ रिमालको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘सामन्ती सोच र संस्कृति भएको शासकले मात्र आफूलाई परमेश्वरको प्रतिनिधि हुँ भन्ने ठान्छ, त्यस्ताले आत्मालोचना गर्ने कुरै हुन्न । के तपाईंले आफूलाई त्यस्तै ठान्नुभएको हो ? त्यस्तो सोच एवं अभिव्यक्ति हामी कम्युनिस्टहरूको होइन र हुनै सक्दैन ।’

सरकार र पार्टी नेतृत्वको सफलता तथा उपलब्धिको चर्चा गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले बिहीबारको बैठकमा आत्मनिन्दा मात्रै गरेर खुइल्याउने काम नगर्न चेतावनी दिएका थिए । श्रेष्ठले रिमालको वैचारिक स्तर र सोचमाथि नै प्रश्न उठाए ।

कम्युनिस्ट समाजवादीहरूले रूपान्तरणको दिशामा अघि बढ्न पहिला आत्मालोचनाबाट सुरु गर्दै, अरूको पनि आलोचना सुन्ने र परिमार्जनका लागि शुद्धीकरणको प्रक्रियामा जाने जनवाद अपनाएको भन्दै श्रेष्ठले बुर्जुवा, पुँजीपतिहरूले समेत आलोचना सुन्ने गरेको समेत बैठकमा प्रस्ट्याए ।

बैठकमा नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, मणि थापा, अमिक शेरचनसहित सातजनाले राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । बैठकमा बोल्नेमध्ये श्रेष्ठ, थापा र शेरचनले आलोचनात्मक टिप्पणी गरेका थिए ।

यो खबर आजको नयाँ पत्रीका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);