कांग्रेस महासमिति : उद्घाटनसत्रमै भनाभन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस महासमिति : उद्घाटनसत्रमै भनाभन

congress Mahasamiti meeting

काठमाडौं, १ पुष । निर्वाचनमा पराजयपछि गुटगत आरोप–प्रत्यारोपमा उत्रिएका कांग्रेस नेताहरूले शनिबारदेखि सुरु महासमिति बैठकको उद्घाटन समारोहमा पनि गुटबन्दीकै विषय जोडतोडले उठाए । पार्टी एकजुट भएर अघि बढ्ने अपेक्षासहित देशभरबाट भेला भएका महासमिति सदस्यहरूमाझ शीर्ष नेताहरूले फरक गुटतर्फ इंगित गर्दै पार्टीमा अन्तर्घात हुने गरेको बताए । निर्वाचनमा पराजय हुनुको कारण गुटबन्दी र अन्तर्घात नै भएको उनीहरूले दोहो-याए ।

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा. प्रकाशशरण महतले गुटबन्दीकै कारण पार्टी कमजोर भएको बताए ।

नेताहरू प्रकशमान सिंह, कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, केबी गुरुङ, डा. रामशरण महत, तारानाथ रानाभाट, अर्जुनरनसिंह केसी, प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठक कांग्रेसका लागि आफूले आफैँलाई सुधार्ने अहम् मौका भएको टिप्पणी गरे ।

देउवाको प्रश्न– के मभन्दा केपी ओली ठीक छन् त ?

पार्टीमा मेरो विरोध गर्ने छुट छ । गल्ती गरिस् भन्दा स्विकार्न पनि तयार छु । तर, केपी ओलीको खिलाफमा माधव नेपालको जति त बोल्नुस् । मेरो मात्र विरोध गर्नुहुन्छ, के मभन्दा केपी ओली ठीक छन् त ? आपसी एकताले हामीलाई आगामी चुनावबाट एक नम्बरको पार्टी बनाउँछ ।

पौडेलको भनाइ– हात उठाएर मात्रै एकता हुँदैन

उम्मेदवारी दिँदा भएको कमजोरीले हामी हा-यौँ । हामी यस्तै तालले अर्को निर्वाचनमा पनि कम्युनिस्टको सामना गर्न सक्दैनौँ । क्षमता, योग्यता र राम्रो मूल्यांकन गरेर टिकट दिन सके मात्रै प्रतिस्पर्धा गर्न सकिन्छ, बहुमत ल्याउन सकिन्छ । तयारी अहिल्यैदेखि थाल्नुपर्छ । एकताबद्ध गराउन हात उठाएर मात्र हुँदैन । आत्मैदेखि मिल्ने र एकता गर्ने कुरा गरौँ ।

गच्छदारले मिलाइदिए देउवा र पौडेलको हात

दिउँसो १ बजेतिर सुरु उद्घाटन कार्यक्रममा १७ वक्ताको सूची थियो । नेताहरूको भाषण ‘गुटबन्दीले कांग्रेस कमजोर बनेको’मै केन्द्रित थियो । उपसभापति विजयकुमार गच्छदारले भने शीर्ष नेताहरूको मन माझ्ने प्रयास गरे । उनले कांग्रेसको माया लागेर ११ वर्षपछि पुरानै घर फर्किएको भन्दै भावुक शैलीमा भाषण सुरु गरे । ०५१ मा कांग्रेसले निर्वाचन हारेपछि गिरिजा, किसुनजी, गणेशमानले एकताको सन्देश दिँदा कांग्रेस ०५६ मा विजयी भएको भन्दै एक भएको सन्देश दिन देउवा र पौडेललाई पनि आग्रह गरे । दुवै नेता उठेर हात हल्लाए । तर, गच्छदारले एक–अर्काको हात समाएर उठाउन भने । उपस्थित महासमिति सदस्यको हुटिङ झन् चर्कियो । देउवाको बायाँपट्टि बसेका विमलेन्द्र निधि र पौडेलेको दायाँ बसेका शशांकले पनि हात मिलाएर उठाउन आग्रह गरे । अन्ततः दुवै शीर्ष नेताले हात मिलाएर उठाए ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);