काठमाडौं, २७ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि लागेका आरोप प्रमाणित भए कारवाही हुने बताएका छन् ।
गत २४ गतेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार संञ्चारमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले राजदुत शेर्पा माथि लागेका आरोप र सार्वजनिक टिप्पणीप्रति सरकार जानकार रहेको भन्दै आरोपहरु प्रमाणित भए कारवाही हुने बताए ।
उनले बाहिर आएका विषयमा सत्यता भए नभएकोबारे सम्बन्धीत व्यक्तिबाट नै जानकारी लिनु राम्रो हुने भएकाले परराष्ट्रमन्त्रालयले राजदुत शेर्पालाई बोलाएको बताए ।
फरक प्रसङ्गमा मन्त्री बास्कोटाले द एसिया प्यासेफिक समिटमा सरकारको उपस्थितिबारे बहस गर्नु आवश्यक नभएको टिप्पणी गरे । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले कुनै विचार, धर्म वा नयाँ परिस्थितिको विश्लेषण नभएकाले आँधीको रुपमा बुझ्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे ।




