बिरामीलाई बेहोस नबनाई मस्तिष्कको ट्यूमरको शल्यक्रिया | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

बिरामीलाई बेहोस नबनाई मस्तिष्कको ट्यूमरको शल्यक्रिया

काठमाडौं, २५ मंसिर । बाँसबारी स्थित न्यूरो अस्पतालले पहिलो पटक बिरामीलाई बेहोस नबनाई मस्तिष्कको ट्यूमरको सफल शल्यक्रिया गर्न सफल भएको छ ।

मङ्गलबार उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्सिटियूट अफ न्यूरोलोजिकल एण्ड एलिड साइन्स अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । २२ वर्षीय किशोर सर्फराज सुरुमा छारेरोगको समस्या लिएर अस्पतालमा आएको र उनको उपचारको क्रममा मस्तिष्कको देब्रेपट्टी बोलीको केन्द्रमा ट्यूमर देखिएको अस्पतालले जनाएको छ ।

त्यस्तै यस किसिमको मस्तिष्कको ट्यूमरको शल्यक्रिया स्वर्गीय डाक्टर उपेन्द्र देवकोटा रहँदा १० वटा गरिएपनि त्यसबेला बिरामीको हात खुट्टाको शक्ति, चाल बचाउन मात्र गरिएको तर बोली बचाँउन गरिएको यो सर्जिकल अस्पतालकै पहिलो रहेको अस्पतालले जनाएको छ ।

शल्यक्रियाका क्रममा पनि सर्फराजलाई १ देखि ५० सम्मको अङ्क गन्न लगाउनुका साथै चित्रहरु देखाएर त्यसको नाम भन्न समेत लगाइएको छ ।

त्यस्तै आफ्नो मस्तिष्कको ट्यूमरको सफल शल्यक्रिया भएकोमा सर्फराज पनि निकै खुसी देखिएका छन् । आफूलाई डाक्टरहरुले बेहोस नबनाई शल्यक्रिया गर्नका लागि सबै कुरा बताएकोले कुनै डर नलागेको उनले बताएका छन् । उनले शल्यक्रियाको लागि १ लाख २० हजार रुपैयाँ रकम लागेको बताए ।

त्यस्तो किसिमको शल्यक्रिया गर्न बिरामी आफै तत्पर हुन जरुरी रहेको अस्पतालले जनाएको छ । उनको शल्यक्रिया गरेको मङ्गलबार ९ दिन पुरा भएको छ तर सर्फराज पूर्णरुपमा ठीक भइसकेको अस्पतालले जनाएको छ ।