काठमाडौं, २४ मंसिर । सरकारी तथा सार्वजनिक निकायमा कार्यरत अधिकांश कर्मचारीले आफ्नो आचरण पालना नगरेको पाइएको छ। सरकारी तथा सार्वजनिक निकायका कर्मचारी कार्यालय समयमै उपस्थित हुँदैनन् र उपस्थित भए पनि तोकिएको पोसाक लगाउँदैनन्।
प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले हालै विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको छड्के अनुगमनका क्रममा यस्तो पाइएको हो।
केन्द्रले काठमाडौं उपत्यकामा रहेका नगरपालिका र अन्य सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा गरेको अनुगमनमा कर्मचारीहरू पदीय आचरणविपरीत कार्यालय समय पालना नगर्ने, सरकारले निर्धारण गरेको पोसाक नलगाउने, कार्यालय समयमा सामाजिक सञ्जालमा व्यस्त रहने, कार्यालयको कम्प्युटरमा गेम खेल्नेलगायतको कार्य गरेको भेटिएको अनुगमनमा संलग्न अधिकारीहरूले बताए। याे खबर अाजकाे नागरिक दैनिकमा छापिएकाे छ ।




