निर्मला पन्त हत्या : अनुसन्धान रावल र चौधरीमा केन्द्रित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निर्मला पन्त हत्या : अनुसन्धान रावल र चौधरीमा केन्द्रित

nirmala

कञ्चनपुर, २२ मंसिर । निर्मला पन्त हत्याको चार महिनापछि प्रहरीले उनकै छिमेकी वडाका दुई युवकमा अनुसन्धान केन्द्रित गरेको छ। भीमदत्त नगरपालिका–१८ का प्रदीप रावल र विशाल चौधरीलाई काठमाडौंबाट नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीसँगको बयानमा रावलले घटनामा आफ्नो संलग्नता रहेको भनी स्वीकार गरेको प्रहरीको उच्च स्रोतले बताएको छ।

यसअघि दिलीप विष्टले पनि प्रहरीसँगको बयानमा घटनामा संलग्नता रहेको भनी स्वीकार गरेका थिए तर पछि डिएनए जाँच भने मेल खाएको थिएन। ‘हामी प्राविधिक पक्ष हेरिरहेका छौं। साइन्टिफिक प्रुफ हुनुपर्छ। हामी अनुसन्धानमै छौं,’ सिआइबीका एक उच्च अधिकारीले भने, ‘हामीसँग बयानमा स्वीकार गर्नुले मात्र केही अर्थ राख्दैन, त्यसैले अहिल्यै केही भन्न सकिन्न।’ निर्मलाको वडासँग सिमाना जोडिएको वडा १८ निवासी रावल करिब डेढ महिनाअघि महेन्द्रनगरबाट काठमाडौं गएका थिए। उनको खोजीमा सक्रिय प्रहरीले सुराकीका आधारमा उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

लागुऔषध दुव्र्यसनी रावलको बयानपछि उनकै वडाका अन्दाजी १७ वर्षीय विशाल चौधरी र दिनेश चौधरीलाई पक्राउ गरेर जहाजबाट बिहीबार काठमाडौं पठाइएको थियो। दिनेश चौधरीलाई शुक्रबार नै बुवाको रोहवरमा छाडिसकिएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए। रावल र विशाल दुई जनामाथि भने प्रहरीले अनुसन्धान जारी राखेको छ। रावलले निर्मलालाई उखुबारीमा लगेर बलात्कारपछि घाँटी च्यापेर हत्या गरेको साबिती बयान दिएको प्रहरी उच्च स्रोतको भनाइ छ।

सोही स्रोतका अनुसार रावलले निर्मलासँग पहिलेदेखि चिनजान रहेको बयानमा उल्लेख गरेका छन। सुरुमा सोधपुछ गरी छाडिएका रावललाई प्रहरीले शंकाको घेरामा राखेर खोजी गरिरहेको थियो।‘हामीले दुई महिनायता रावललाई वाच गरिरहेका थियौं,’ एसपी कडायतले भने। प्रहरीले पछिल्लो समयमा चिनेजानेकै व्यक्तिबाट निर्मलाको बलात्कार र हत्या भएको हुन सक्ने भन्दै गाउँले र छिमेकीहरूमा अनुसन्धान केन्द्रित गरेको थियो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);