पक्राउ परेकाको बयान सार्वजनिक, खाँण र स्वकिय केसीले दिए इन्कारी बयान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पक्राउ परेकाको बयान सार्वजनिक, खाँण र स्वकिय केसीले दिए इन्कारी बयान

काठमाडौं, १० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका क्रममा रहेका विभिन्न ‘हिरासतमा रहेका’ व्यक्तिहरूको बयान सार्वजनिक भएको छ । उनीहरूमध्ये कतिपयले अभियोग स्विकारोन्मुख बयान दिएका छन् भने उच्च तहका नेताहरूले इन्कारी बयान दिएका छन् ।

प्रहरीले विभिन्न मितिमा पक्राउ गरी अनुसन्धान गरिरहेका आरोपीहरूविरुद्ध सरकारी वकिलको कार्यलयमार्फत मुद्दा दर्ताको प्रक्रियासमेत अघि बढेको छ । आरोपीहरूलाई राज्यविरुद्धको र सांगठिक अपराधअन्र्तगतको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीले इन्कारी बयान दिनुभएको छ । खाँणले बयानमा भन्नुभएको छ ‘भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाई दिन्छौं भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन । म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदा समेत नेपालको छवि उच्च राख्ने काम गरेको छु ।’ यस्तै, खाँणका स्वकीय सचिव केसीले पनि इन्कारी बयान दिनुभएको छ । आफूले पूर्वसांसद आङटावा शेर्पासँग पटक–पटक कुराकानी गरेको भए पनि त्यसबारे सम्झना नभएको उनको भनाइ छ ।

पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझीले आफूले सिंहदरबादर जाँदा इन्द्रतिज राईसँग बढी भेट्ने गरेको बयानमा स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभएको छ,–‘इन्द्रजित राई मैले पहिलेदेखि चिनेका व्यक्ति हुन् । काम विशेषले गृह मन्त्रालय जाँदा मैले प्रायः इन्द्रजित राईलाई नै बढी भेट्ने गरेको थिएँ ।’ रायमाझीले सानु भण्डारीको घरबाट प्राप्त डायरीमा आफ्नो नाममा रकम दिएको भनिएको कुरामा सत्यता नरहेको दाबी गर्नुभएको छ । उहाँले केशव दुलाल र सानु भण्डारीको अफरमा ‘फ्रेस’ हुनका लागि हेलिकप्टरमा गोसाईंकुण्ड पुगेको स्वीकार गर्नुभयो ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको र आफूलाई फसाउने काम भएको बयान दिनुभएको छ । सचिव पाण्डेले आफूले प्रत्यक्ष रूपमा रकम नलिएको र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण वा उनको सचिवालयले रकम लिए÷नलिएको आफूलाई थाहा नभएको पनि जिकिर गर्नुभएको छ ।

शरणार्थी नेता टेकनाथ रिजालले सरकारी वकिलसमक्ष प्रहरीले लिएको बयानमा रिजालले आफूलाई करिब ४ वर्षअघि सानु भण्डारी र केशव दुलालले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग भेट गराएको जानकारी दिँदै भन्नुभएको छ – ‘नेपाल सरकारका उच्च ओहोदाका मानिसले मलाई त्यस्तो प्रस्ताव गरेपछि मैले सम्पूर्ण भुटानी शरणार्थीहरूको समस्या पूर्ण रूपमा समाधान हुनुपर्छ, नेपालीहरूलाई कहाँ लैजाने र कस्तो व्यवस्थापन गर्ने भन्ने मेरो विषय पनि होइन र मेरो पहुँचको कुरा पनि होइन । तर, तपाईंहरू भुटानीहरूको नाममा नेपालीहरूलाई तेस्रो मुलुक लैजाने हो भने सोबाट भुटानीहरूलाई मर्का नपार्ने र निजहरूबाट रकम नलिने गरी मिलाउन सक्नुहुन्छ भने यसमा मेरो आपत्ति हुने छैन भनेको थिएँ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार भनिएका केशवप्रसाद दुलालले आफू ठगी गर्ने व्यक्ति नभएर पीडित भएको बयान दिनुभएको छ । बयानमा दुलालले सन्देश शर्मा र गजेन्द्र बुढाथोकीसँग आरजु देउवालाई २ करोड बुझाएको, छ करोड रुपियाँ बुझाएको मञ्जु खाँणले लिएको भनेर भएको कुराकानीको बारेमा पनि आफूलाई कुनै जानकारी नभएको बताउनुभएको छ ।

त्यसै गरी नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार भनिएका अर्का आरोपी सानु भण्डारीले आफूलाई डा। इन्द्रजित राईले अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको बयान दिनुभएको छ । समाचारपत्रबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);