शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान आजदेखि | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान आजदेखि

काठमाडौं, ११ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान आजदेखि सुरु हुने भएको छ । बुधबार अदालतमा अभियोग पत्र दर्ता भएपनि पक्राउ परेकाहरुको अदालतमा फेरी बयान सुरु हुने भएको हो ।

सो प्रकरणमा १६ जना पक्राउ परेका छन् भने अझै १६ जना पक्राउ पर्न बाँकी छ । एकजनाको प्रतिवादीको बयान सकिन करिब २ देखि ३ दिन घण्टा लाग्ने अनुमान गरिएको छ । सरकारी वकिलको कार्यालयमा भएको बयानमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण ९ र एमाले सचिव टोपबहादुर रायमाझीले ५ घण्टा लगाएका थिए ।

पक्राउ परेकाहरुको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसमा सरकारी वकिल र १६ जना प्रतिवादीका कानुन व्यवसायीहरु उपस्थित हुनेछन् । बहस सकिएपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने वा कारागार चलान गर्नेमध्ये एक आदेश दिनेछन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली कागजात बनाएर तेस्रो मुलुक अमेरिका पठाउने नाममा करोडौं ठगी गरेको प्रकरणमा जोडिएका ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, सचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध करिब २९ करोड रुपियाँको बिगो मागदाबीसहित नाममा २२४ पृष्ठ लामो अभियोगपत्र दर्ता भएको हो । अभियोगीहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपियाँ संगठित रूपमा ठगी गरेको निष्कर्ष निकाल्दै मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम सोहीअनुसारको बिगो मागदाबी गरिएको हो।

प्रहरीले दुई दिनअघि बुझाएको प्रतिवेदन अध्ययन गरी सरकारी वकिलको कार्यालयले उनीहरूलाई राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र किर्ते गरी गरी चारवटा कसूर अभियोगमा मुद्दा दायर गरिएको जनाएको छ ।

मुद्दा दायर गरिएकामध्ये खाँण, रायमाझी र उहाँको छोरा सन्दीप रायमाझी, टेकनारायण पाण्डे, आङटावा शेर्पा, इन्द्रजित राई, शम्शेर मियाँ, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंकबहादुर गुरुङ, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी र रामशरण केसी प्रहरी हिरासतमा छन् ।

त्यस्तै, मुद्दा दायर गरिएको तर फरारको सूचीमा रहेकाहरू लक्ष्मी महर्जन, केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई, दिपा हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बू, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतीक थापा रहेका छन् । उक्त प्रकरणका मुख्य आरोपीहरूले सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);