चार बर्षभित्र राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने मन्त्री महासेठको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

चार बर्षभित्र राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने मन्त्री महासेठको दावी

ragubir mahaset

काठमाडौं, २० मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ४ वर्ष भित्र ६ वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने दावी गरेका छन् । संघीय संसद राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति विवरण पेश गर्दै मन्त्री महासेठले अन्य आयोजनाको कामलाई तीव्रताका साथ अघि बढाउन सरकारले अर्थ मन्त्रालयसँग बजेटका विषयमा छलफल गरिरहेको बताए ।

हुलाकी राजमार्ग, पुष्पलाल लोकमार्ग, कालिगण्डकी कोरिडोर, कर्णाली लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजनाको काम ४ वर्ष भित्र सम्पन्न गर्ने मन्त्री महासेठको योजना छ । मन्त्री महासेठले ६ वटा आयोजनामध्ये हुलाकी मार्गका लागि बजेटको अभाव नरहेको पनि स्पष्ट पारे ।

उनले हुलाकी राजमार्ग निर्माणका लागि करिव ६० अरव बजेट लाग्ने जानकारी पनि समितिलाई गराए । ४७ अरव लागत अनुमान गरिएको सो राजमार्गमा भारत सरकारले ८ अरव अनुदान सहायता उपलब्ध गराएको छ । बढी समय लाग्ने भएकाले सो आयोजना सम्पन्न गर्न ४७ अरवले नपुग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुमान छ ।

मन्त्री महासेठले रेल सेवा सञ्चालनका लागि अव छिट्टै विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने विषयमा भारत र चीन दुवै देशका सरकारसँग कुरा भईरहेको पनि जानकारी दिए । बैठकमा समितिका सदस्यहरुले ४ वर्ष भित्र ६ वटा राष्ट्रिय गौरवको आयोजना निर्माण गरेर देखाउन सरकारलाई सचेत गराएका थिए ।

सरकारले गफमात्रै नभई कामै गरेर देखाउने बेला आएको समितिका सदस्य सुरेन्द्रराज पाण्डेले बताए । उनले सरकारको नौं महिने कार्यकाल हेर्दा चार वर्ष भित्र ६ वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्य हासिल हुनेमा आफू विश्वस्त हुन नसकेको बताए ।

समितिका अर्का सदस्य खिमलाल भट्टराईले लक्ष्य अनुसार राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न गर्ने आधार तयार पार्न सरकारले जग्गाको मुआब्जा वितरणको कामलाई छिटो सम्पन्न गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले वन क्षेत्रमा गएर आयोजना निर्माणको काम रोकिने गरेको उल्लेख गर्दै त्यसतर्फ पनि सचेत रहन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराए ।

बैठकमा समितिका सदस्यहरुले काठमाडौंकै सडकको खाल्डाखुल्डी पुर्ने काम समेत गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);