काठमाडौं, १९ मंसिर । संघीय संसद, प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चार वटा उपसमिति गठन गरेको छ ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति उपसमिति, उपभोक्ता हित उपसमिति, श्रम र रोजगार उपसमिति र सार्वजनिक संस्थान उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ चार वटा उपसमिति गठन गरिएको समितिका सभापति विमलप्रस्ताव श्रीवास्तवले जानकारी दिए।
५/५ जना सदस्य रहने उपसमितिलाई आफ्नो कार्यविधि आफै बनाउने कार्यादेश दिइएको छ । उपसमितिको म्याद बढिमा एक वर्ष तोक्ने निर्णय गरिएको पनि समितिका सभापति श्रीवास्तवले बताए । समितिले आ– आफ्नो क्षेत्रको स्थलगत अवलोकन समेत गरी समितिमा प्रतिवेदन पेश गर्नेछ ।
बैठकमा समितिका सदस्यहरुले सरकार र संसदको कामलाई प्रभावकारी बनाउनेगरी उपसमिति गठन गर्नु पर्ने बताएका थिए । समितिका सदस्य एवम् पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकार र संसदको कामलाई प्रभावकारी बनाउन पनि समिति अन्तरगत विभिन्न उपसमिति गठन गर्ने गरिएको स्पष्ट पारे । उपसमितिलाई आवश्यक अध्ययन, अनुसन्धान गरी समितिको कामलाई प्रभावकारी बनाउन पनि सचेत गराइएको छ ।




