प्रतिनिधिसभाको मर्मत संहार नहुँदा हिउँदे अधिवेशन बोलाउन ढिलाई | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

प्रतिनिधिसभाको मर्मत संहार नहुँदा हिउँदे अधिवेशन बोलाउन ढिलाई

काठमाडौं, १९ मंसिर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभा भवनको मर्मत संहार कार्य पूरा नहुँदा संघीय संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाई भएको बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका बेला मन्त्री ढकालले प्रतिनिधिसभा भवनको सभा हलमा कुर्सी, माईकलगायतको मर्मत कार्य पूरा नभएकाले संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा ढिलाई हुन गएको बताए ।

बुधबार सिंहदरबारमा आयोजित संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सरकार संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा बिलम्व गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।

मन्त्री ढकालले पुस पहिलो साता भित्र प्रतिनिधिसभा भवन मर्मत संहार कार्य पूरा हुने र त्यसलगत्तै संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरिने बताए । उनले संसदको हिउँदे अधिवेशनमा कानुन निर्माण प्रक्रियालाई व्यवस्थित ढंगले अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री ढकालले संघीय संसदको आगामी अधिवेशनमा संविधानसँग बाँझिएका कानुन संशोधनको कामलाई उच्च प्राथमिकता दिने योजना रहेकोे बताए । फागुन पहिलो हप्ता भित्र नयाँ संविधानसँग बाँझिएका सबै कानुन संशोधन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

मन्त्री ढकालले संविधानको सोही व्यवस्था अनुसार सरकारले संविधानसँग बाँझिएका कानुन संशोधन गर्ने कामलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे । आगामी हिउँदे अधिवेशनमा साझा सूचिसँग सम्बन्धित र संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माणको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने मन्त्री ढकालको योजना छ ।

मन्त्री ढकालले सरकार संविधानको भावना बमोजिम कानुन निर्माणको कामलाई अघि बढाउन प्रतिवद्ध रहेकोे बताए ।

ताजा समाचार