एजेन्सी, १५ मंसिर । अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज हर्बर्ट वाकर बुश अर्थात जर्ज एच.डब्लू बुशको ९४ वर्षको उमेरमा निधन भएको छ । पार्किन्सन रोगबाट ग्रस्त बुश केही वर्ष देखि अस्वस्थ थिए । रगतमा संक्रमण भएपछि अन्तिम समय अप्रिलमा अस्पताल भर्ना भएका थिए ।
अमेरिकी समय अनुसार शुक्रबार राती १० बजेर १० मिनेटमा उनको निधन भएको हो । ‘९४ वर्षको उमेरमा हाम्रा अतिप्रिय बुवाको निधनले जेब, निल, मार्भिन, डोरो र मलाई निकै दुःखी तुल्याएको छ,’ उनका छोरा समेत रहेका पूर्व राष्ट्रपति छोरा जर्ज डब्लू बुशले बक्तब्यमा भनेका छन् ।
बुशको निधन भएपछि अमेरिकाका बहालवाला राष्ट्रपति देखि पुर्व राष्ट्रपतिहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । गत अप्रिलमा उनकी श्रीमती बारबाराको निधन भएको थियो । सोहि महिनादेखि उनको स्वास्थ्य अवस्था थप कमजोर भएका कारण उनलाई अस्पतालमा राखिएको थियो ।

उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । दोस्रो कार्यकालका लागि निर्वाचनमा उठेका उनलाई विल क्लिन्टनले राष्ट्रपतिय निर्वाचनमा पराजित गरेका थिए । त्यसअघि उनले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए । सन् १९८१–१९८५ र १९८५–१९८९ सम्म उनले दुई कार्यकाल लगातार अमेरिकाको उपराष्ट्रपति पद सम्हालेका थिए ।
त्यसबेला रोनाल्ड रेगन अमेरिकी राष्ट्रपति थिए । दोस्रो विश्व युद्धका भेट्रान बुस पछि राजनीतिमा आएर राष्ट्रपति बनेका थिए । तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शीतयुद्ध अन्त्य गर्न उनको भूमिका महत्वपूर्ण छ ।
आतंकवादबाट ग्रस्त इराकमा सद्याम हुसेनको शासन अन्त्यका लागि बुसको भुमिका सम्झनायोग्य छ । त्यसो त जर्ज बुशको नाम अमेरिकी इतिहासमा अब्बल मानिन्छ । सन् १९६४ मा ४० बर्षको उमेरमा उनी राजनीतिमा आएका थिए ।
रिपब्लिकन पार्टिबाट राजनीति सुरुवात गर्नुपूर्व उनी दोस्रो विश्वयुद्धमा युद्धक विमान चालक थिए । उनी धनाढ्य तेल व्यापारी समेत थिए । उनका छोरा जर्ज डब्ल्यू बुश अमेरिकाका ४३ औं राष्ट्रपति हुन् ।