काठमाडौं, ७ मंसिर । अर्धभुमिगत अवस्थामा रहेको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिवार काठमाण्डौंमा सभा गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले राजधानीको भृकुटीमण्डपमा सभा गर्ने तयारी गरेको छ ।
संविधान र यो व्यवस्था नै ठिक छैन भनेर कडा आन्दोलनको तयारी गरेको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिवार राजधानीमा सभा गर्ने भएको छ । राजधानीको गोंगवु, कालिमाटी र ववरमहलबाट जुलुस निकालेर रत्नपार्कमा भेला भएर नेकपाले सभा गर्न लागेको हो । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सम्वोधन गर्ने यस सभामा नेकपाले आफनो राजनीतिक कार्यदिशा सार्वजनिक गर्नेछ ।
अर्धभुमिगत अवस्थामा रहेको नेकपा प्रति अनेक खालका संशय रहेका छन । यो व्यवस्था र संविधान नै मान्दैनौं भनिरहेको नेकपाले अब आफनो राजनीतिक उदेश्य प्राप्तिको लागि सशस्त्र क्रान्ति नै गर्न लागेको हो कि भन्ने चर्चा पनि यसविचमा चलिरहेको छ । यहि कारण शनिवार राजधानीको शान्तिवाटिकामा हुने सभा कस्तो हुनेछ भनेर धेरै मानिसले चासो प्रकट गरेका छन । तर,नेकपाले भने यो विलकुल शान्तिपुर्ण सभा हुने र सभा अघि हुने जुलुस पनि शान्तिपुर्ण नै हुने जानकारी दिएको छ ।
तिन बर्ष अघि संविधानसभाले जारी गरेको संविधान ठिक छैन भनेर असन्तुष्टि पोख्ने राजनीतिक दलमा नेकपा मात्र होइन । यसरी असन्तुष्टि पोख्ने दलमा मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी पनि छ । तर, नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपाले भने अर्धभुमिगत राजनीतिक अभ्यास पनि थालिसकेको छ ।
यद्यपि सरकारले संविधान मान्दैनौं भन्ने तर राजनीतिक संगठनसंग वार्ता गर्ने नीति लिएको छ । यहि नीति अनुसार सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । तर नेकपाले भने सरकारले वार्ता भनेपनि के विषयमा वार्ता गर्ने भन्ने कुरा प्रष्ट नपारेको बताएको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सरकारसंग वार्ताको कुनै औचित्य नरहेको पनि बताएको छ ।
सरकारले नेकपा लगायतका राजनीतिक दलसंग वार्ता गरेर वर्तमान संविधान प्रति अधिकतम राजनीतिक दलको सहमति जुटाउने प्रयत्न गरेको छ । तर, नेत्रविक्रम चन्द देखि मोहन वैद्यसम्म पनि यो संविधानले जनताको माग सम्वोधन नगर्ने अडान लिइरहेका छन । अझ नेकपाले त यो संविधान र ब्यवस्था नै काम नलाग्ने बताउन थालेको छ । अझ महत्वपुर्ण सवाल के हो भने यो संविधान जारी भएपछि अब राजनीतिक संक्रमण सकियो र समृद्धि नै एकमात्र उदेश्य हो भनेका राजनीतिक दलले संविधान मान्दिन भन्ने राजनीतिक दललाइ मनाउन नसक्नु नै हो ।




