धर्ना बस्दै निर्मलाका आमाबुबा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

धर्ना बस्दै निर्मलाका आमाबुबा

nirmala pariwar

कञ्चनपुर, २५ कात्तिक । निर्मला पन्तको हत्या भएको साढे तीन महिना भइसक्दा पनि दोषी पत्ता नलागेपछि उनका आमाबुबा आइतबारदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन्। धर्नामा अधिकारकर्मी र नागरिक समाजले पनि समर्थन गर्ने भएका छन्। निर्मलाका आमाबुबाले शनिबार उनीहरूसँग छलफल गरेका थिए।

‘मेरो छोरीको न्यायका लागि म आइतबार ११ बजेदेखि जिल्ला प्रशासन कार्यालयअगाडि अनिश्चितकालीन धर्नामा बस्दैछु’, निर्मलाका बुबा यज्ञराज पन्तले भने, ‘छोरीले न्याय नपाएसम्म धर्ना बसिरहन्छु।’ निर्मला सबैकी छोरी भएकाले उनको न्यायका लागि आफूले सुरु गर्ने धर्नामा साथ दिन उनले सबैलाई आग्रह पनि गरे। उनले भने, ‘निर्मला सबैकी छोरी हो, अन्य छोरीले मेरो छोरीको जस्तो नियति भोग्नु नपरोस् भन्नका लागि पनि अनिश्चितकालीन धर्नामा साथ दिन सबैलाई आग्रह गर्छु।’

उनले हत्यारा पत्ता लगाउन प्रहरीले सुरुदेखि लापरबाही गरेको आरोप लगाए। उनले प्रहरीले छोरीको हत्यारा अहिलेसम्म पत्ता नलगाउँदा न्याय पाइने आशा मरेकाले धर्नामा बस्ने निर्णयमा पुगेको बताए। ‘छोरीको हत्यारा पत्ता लगाउन सरकार गम्भीर भएको छैन’, उनले भने।

निर्मलाकी आमा दुर्गाले हत्यारा पत्ता लगाउँछु भनेर अहिलेसम्म सबैले आश्वासन मात्र दिएको बताइन्। ‘हत्यारालाई कारबाही भए मात्र मेरो छोरीको आत्मालाई शान्ति मिल्नेछ’, उनले भनिन्, ‘ हत्यारा पत्ता नलागेसम्म अनि कसरी मेरो मनको पीडा र छटपटी कम हुन्छ? न्याय नपाउन्जेल धर्नामा बसिरहनेछु ।’ साउन १० गते प्रहरीलाई खबर गरेकै बेला खोजी नगरिदिने र दोस्रो दिन लास फेलापछि सबै प्रमाण नष्ट गर्ने प्रहरीलाई हिरासतमा लिएर अनुसन्धान नगरिएको गुनासो उनको छ। ‘आइजिपी मेरो घरमा आएकै वबला मैले प्रहरीभित्रै अनुसन्धान गरे छोरीको हत्यारा पत्ता लाग्न सक्छ भनेकी थिएँ ’, उनी भन्छिन्, ‘ हिरासतमा लिएर अहिले पनि ती दोषी प्रहरीलाई किन अनुसन्धान गरिएको छैन।’

छोरीको हत्यारा पत्ता नलागेसम्म आफू र आफ्ना अन्य २ छोरी पनि असुरक्षित रहने उनी बताउँछिन्। ‘सबै ट्युसन पढिरहेका छन्, त्रासले जेठो छोरी मनीषालाई ट्युसन पढ्न पठाउन सकेकी छैन,’ उनले भनिन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);