काठमाडौं, २० कात्तिक । सरकारले तिहारमा अत्याधिक बिक्री वितरण हुने काठमाडौंमा रहेका मिठाई पसलको अनुगमनलाई तीब्रता दिएको छ ।
तिहारमा आम उपभोक्ताले अखाद्य बस्तु उपयोग नगरुन् भन्ने उद्देश्यका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंमा रहेका मिठाई पसलको अनुगमनलाई तीव्रता दिइएको हो ।
यसै अवसर पारेर मंगलबार काठमाडौंको थापाथली र कमलादीमा रहेको २ वटा मिठाई पसलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसी नेतृत्वको उच्चस्तरीय टोलीले अनुगमन गरेको छ ।
थापाथलीस्थित आँगन मिठाई पसल र कमलादीस्थित बिगबेल स्विट्समा सचिव जिसी नेतृत्वको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा ती दुवै पसलको सबै मिठाईको परिक्षण गरी गुणस्तरमा सुधार ल्याउन सचेत गराइएको छ ।
दुवै मिठाई पसलमा गुणस्तर सुधार गर्न सचेत गराइएको सचिव जिसीले जानकारी दिए । उनले गुणस्तर हेरेर मात्रै मिठाईलगायतका खाद्य बस्तु खरिद गर्न पनि आम उपभोक्तालाई सचेत गराए ।
सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंलगायत देशका मुख्य मुख्य सहरमा बजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ । सचिव जिसीले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन जनशक्ति अभावका कारण नसकिएको स्पष्ट पारे ।
सरकारले विगत २ महिनायता तरकारी, दुध, मासु, खानेपानी, तेल लगायतका दैनिक उपभोग्य खाद्य बस्तुको बजार अनुगमन गरी गुणस्तरहिन खाद्य बस्तु उत्पादकहरुको कारखानामा शीलबन्दी समेत गर्दै आएको छ ।