विराटनगरमा आइपुग्यो रेल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

विराटनगरमा आइपुग्यो रेल

rail

विराटनगर, १९ कात्तिक । विराटनगर–१८ बुधनगरका नवलकिशोर यादव आइतबार निकै खुसी देखिन्थे ।

यादवमात्रै होइन बुधनगरका सबैजसो स्थानीय बिहानैदेखि कृषिकर्म छाडेर बुधनगरको भेडियारीमा जम्मा भएका थिए । खेतमा पाकेको धान काट्न छाडेर उनीहरू भेटियारीमा जम्मा हुनुको एउटै कारण थियो पहिलोपटक आएको रेल हेर्नु । नवलकिशोरले त रेल निकैपटक चढेका छन् ।

तर, भारतीय सीमा नजिकै भएर पनि स्थानीय ७३ वर्षीया दयावती यादवले भने जिन्दगीमा पहिलोपटक आफ्नै गाउँमा रेल देखिन् । “रेल त भारत जाँदा धेरैपटक चढिएको थियो, तर आफ्नै गाउँसम्म रेल आउँदाको खुसी बेग्लै हुँदो रहेछ,” नवलकिशोरले भने, “खुसीको सीमा छैन यतिबेला ” नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

त्यही समझदारीअनुसार भारत सरकारको लगानीमा बथनाहादेखि कटहरीसम्म रेल्वे ट्रयाक निर्माणको काम धमाधम भइरहेको छ । भेडियारीसम्म भने पहिलोपटक आइतबार रेल आएको हो । ८ किलोमिटर दूरी पार गरी रेलको इन्जिन ल्याइएको हो । यसमा भारतीय रेल्वेसहित रेल्वे निर्माण कम्पनीका कर्मचारी बसेर आउँदा नेपाली भूमिमा स्थानीयले ताली बजाएर स्वागत गरेका थिए ।

८ किलोमिटर दूरी ४५ मिनेट लगाएर भारतीय रेल बुधनगरको यार्डसम्म आएको थियो । पहिलो चरणमा आठ किलोमिटर मात्र रेलमार्ग निर्माण भइसकेको छ । यो रेल मोरङको कटहरी गाउँपालिकासम्म पुग्छ । तर कटहरी पुग्नका लागि अझै ८ किलोमिटर रेलमार्ग निर्माणको काम बाँकी छ ।

नेपालतर्फ मुआब्जालगायतका विवाद समाधान भए डेढ वर्षभित्र पूरै क्षेत्रमा रेल सञ्चालन गर्ने सकिने भारतको नर्थइस्ट रेल्वेका डेपुटी चिफ एस विश्वासले जानकारी दिए । “मुआब्जा विवाद समाधान भएको अबको डेढ वर्षभित्र कटहरीसम्म रेल सञ्चालन हुन्छ,” उनले भने । न्यू बिजी रेललाइन प्रोजेक्ट बथनाहा–विराटनगर रेल्वेका प्रोजेक्ट हेड आश्विनी कुमारले यो परीक्षणले अब नेपाल–भारत रेल्वे सञ्चालन हुनेमा विश्वास बढेको बताए ।

मालबाहक रेल गुडाउन प्राथमिकता दिए पनि यात्रुबाहक रेल सञ्चालन गर्न स्टेशनलगायत संरचना निर्माण दु्रत गतिमा निर्माण भइरहेको उनले जनाए ।अबको डेढ महिनाभित्र बथनाहादेखि बुधनगरसम्म रेल चलाउन सकिने निर्माण पक्षको दाबी छ । बथनाहादेखि बुधनगरसम्म कुल ८ किलोमिटर पर्छ । जसमा भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर दूरी छ ।

रेलमार्गको निर्माण गर्न ठेक्का लिएको इरकोन इन्टरनेशनलका जुनियर जनरल म्यानेजर प्रदीप कुमारका अनुसार बथनाहादेखि आइसिपीसम्मको रेलमार्ग परीक्षण गर्न रेलको इन्जिन कुदाएको हो । इरकोनले भारतको बथनाहादेखि मोरङको कटहरीसम्म १८।१ किलोमिटरको क्षेत्रमा रेलमार्ग निर्माण गर्ने ठेक्का लिएको छ । इरकोनले ६ वर्षअघि ठेक्का पाएको प्रदीपले बताए ।

प्रदीपका अनुसार आईसीपीबाट नेपालतर्फ अझै ३ किलोमिटर क्षेत्रमा पनि रेलमार्ग निर्माण गर्ने काम पूरा भएको छ । सो क्षेत्रमा सिग्नल लाइट लगाउने काम जारी रहेको प्रदीपले बताए । नेपालतर्फको बाँकी ८ किलोमिटर क्षेत्रमा ट्रयाक खोलिसकेको भए पनि मुआब्जा विवादका कारण रेलमार्ग निर्माणको काम रोकिएको छ ।

नेपालतर्फको सीमान्त क्षेत्र बुधनगरको आइसिपीदेखि मोरङको कटहरीसम्म १३ किलोमिटर रेलमार्ग निर्माणका लागि सरकारले ५ सय ६५ जग्गा धनीबाट १ सय १९ बिघा जग्गा अधिग्रहण गरेको थियो ।

जग्गाधनीमध्ये स्थानीय शेषनारायण माझी र घुरन माझीले मुआब्जा कम भएको भन्दै रेल विभाग र जिल्ला प्रशासन कार्यालय मोरङलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए । जिल्ला प्रशासन कार्यालयका अनुसार रेलमार्गका लागि प्रतिकठ्ठा न्यूनतम ९० हजारदेखि २५ लाखसम्म मूल्यांकन गरेर ५३ करोड मुआब्जा बितरण गरिएको थियो ।

बुधनगरस्थित आईसीपीको छेउमा रेलवे स्टेसन र अन्य पूर्वाधार बनाउन ४२ बिघा जग्गा छुट्याइएको छ । निर्माण भइरहेको रेलवे स्टेशनमा यात्रु प्रतीक्षालय, कार्यालय भवन, कर्मचारी क्वाटरलगायतका संरचना तयार हुँदैछ ।

भारतको बथनाहाबाट आइपुगेको रेलको इन्जिन बोक्ने डब्बामा भारतका रेल विभाग र निर्माण कम्पनी इकोर्नका प्रतिनिधिहरू सवार थिए । रेल्वेको परीक्षण सफल भएपछि पहिलो चरणमा मालबाहक रेल नेपाल आउनेछ ।

त्यसपछि सोही रेलमार्गमा थप लिंक निर्माण भएपछि यात्रुबाहक रेल नेपालतर्फको कटहरीसम्म आउनेछ । कोलकत्ताबाट नेपाल जोड्ने सिधा रेलमार्ग नहुँदा ढुवानी लागत बढेको गुनासो गर्ने नेपाली उद्योगी व्यवसायीलाई मालबाहक रेल सञ्चालनमा आएसँगै सामान आयातमा सहज हुने मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए ।

“ढुवानी खर्च कम हुँदा त्यसबाट उपभोक्तालाई समेत फाइदा पुग्नेछ,” सारडाले भने, “उत्पादित वस्तुको लागत घट्दा भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नसमेत समस्या हुने छैन ।”आजको कारोबार दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);