१७ वर्षपछि चिनीमा सहुलियत कटौती | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

१७ वर्षपछि चिनीमा सहुलियत कटौती

sugar

काठमाडौं, १९ कात्तिक । सरकारले विगत १७ वर्षदेखि नेपालीहरूको महान चाड दशै, तिहार र छठमा दिँदै आएको चिनीमा सहुलियत कटौती गरेको छ ।

२०५८ सालदेखि सुपथ पसलमार्फत चाडवाडमा उपभोक्तालाई राहत दिँदै आए पनि यस वर्षदेखि यस्तो सुविधा कटौती गरिएको हो । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँँ कायम गर्न निर्देशन दिएको थियो । तर, समितिको निर्देशन अवज्ञा गर्दै ७० रुपैयाँ कायम गरेको सरकारले हरेक वर्ष दसैं तिहारमा दिँदै आएको सहुलियत कटौतीसमेत गरेको छ । सरकारले सहुलियत नदिँदा उपभोक्ताले बजारमा प्रतिकेजी ८० देखि ९० रुपैयाँँसम्म तिरेर महँगो मूल्यमा चिनी खरिद गर्नुपर्ने बाध्यता छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६३ रुपैयाँँ चिनीको मूल्य कायम गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेपनि हालसम्म कुनै निर्णय नगरेको र सहुलियत दिने कार्यविधिसमेत स्वीकृत नगरेकोले विगतमा दिँदै आएको छुट दिन नसकिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

“मन्त्रिपरिषद्ले स्वीकृत गरेमात्र हामी दिन सक्छौं, आजका दिनसम्म सहुलियत दिने कार्यविधि स्वीकृति भएको छैन,” ती अधिकारीले भने । उपभोक्तालाई सहुलियत दिनका लागि मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा भने रकम विनियोजन गरेको छ ।
मन्त्रालयले साल्टट्रेडिङ कर्पोरेसनलाई प्रतिकेजी चिनीमा पाँच रुपैयाँँ र नुनमा प्रतिकेजी दुई रुपैयाँ छुट दिनका लागि १ करोड ५० लाख रुपैयाँँ विनियोजन गरेको थियो । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र प्रशासकहरूले उपभोक्ताको हित नचाहाँदा चाडपर्वमा उपभोक्ताले सहुलियत पाउन नसकेको बताए ।

मन्त्रालयले बजेटमै चाडपर्वमा उपभोक्तालाई सहुलियत दिन रकम छुट्याएको छ,” उनले भने, “मन्त्रालयको अदूरदर्शी नीतिको कारणले गर्दा उपभोक्ताले महँगो मूल्यमा चिनी खरिद गर्नुपरेको छ ।” सरकारले प्रत्येक वर्ष चाडपर्वमा उपभोक्तालाई सुपथ पसलमार्फत सहुलियतदरमा दैनिक उपभोग्य वस्तुको वितरण गर्दै आएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चिनीमा प्रतिकेजी ७० रुपैयाँँभन्दा बढी लिन नपाइने निर्णय गरेका थिए । सरकार आफैंले प्रतिकेजी चिनीमा पाँच रुपैयाँँ दिने भनेर घोषणा गरे पनि कार्यान्वयन गर्न नसक्दा उपभोक्ताले महँगो मूल्यमा खरिद गर्नुपरेको छ ।

अहिले भने कर्पोरेसनले प्रतिकेजीमा २ रुपैयाँँ मूल्य घटाएर बिक्री खुला गरेको छ । कर्पोरेसनका नायव महाप्रवन्धक कुमारराज भन्डारीले शनिवारदेखि प्रतिकेजी २ रुपैयाँँ मूल्य घटाएर ६८ रुपैयाँमा बिक्री खुला गरिएको बताए ।

खाद्य संस्थानले चामल वितरण गरे पनि कर्पोरेसनले चिनी वितरण गरेको थिएन । सरकारले असोज १२ देखि सुपथ मूल्य पसलमार्फत चिनी प्रतिकेजीमा पाँच रुपैयाँ छुट दिने घोषणा गरेको थियो । कर्पोरेसनले महँगो मूल्यमा चिनी खरिद गरेकाले सस्तोमा बिक्री गर्न नसकेको मन्त्रालयको भनाइ छ । बजारमा प्रतिकेजी ५९ रुपैयाँँमा पनि चिनी बिक्री भइरहेको छ ।

उद्योगीले फयाक्ट्री मूल्य प्रतिकेजी ६४ रुपैयाँँमा चिनी वितरण गरेका छन् । कर्पोरेसनसँग अहिले १७ हजार टन चिनी मौज्दात छ । कर्पोरेसनले भारतबाट महँगो मूल्यमा उच्च गुणस्तरको चिनी खरिद गरेको थियो । खरिद मूल्यभन्दा सस्तोमा बजारमा चिनी वितरण भएकाले पनि कर्पोरेसनको चिनी बिक्री हुन नसकेको हो । सरकारले केही समय अघि चिनी आयातमा प्रतिवन्ध लगाएकाले बजारमा चिनीको मूल्य महँगिएको हो ।

सरकारले २०५८ सालमा एकीकृत सुपथ पसलमार्फत नेपाल खाद्य संस्थान, नेशनल टे«डिङ लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरसनले बिक्री गरेको आधारमा छुट रकम उपलब्ध गराउँदै आएको थियो । २०६२/६३ मा आएर एकमुष्ठरूपमा रकम छुट्याएर उपभोक्तालाई सहुलियत दिने गरेको थियो । आजको कारोबार दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);