स्थापित ९ महिनामै विस्थापित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

स्थापित ९ महिनामै विस्थापित

keshab sthapit

हेटौंडा, १७ कात्तिक । प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन्।

संविधानको धारा १६९, उपधारा २ को खण्ड ‘ख’अनुसार स्थापितलाई पदबाट हटाएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मवारी आफैंले लिएका छन् ।

‘मुख्यमन्त्रीको निर्देशनलाई पनि उहाँ (स्थापित)ले सधैँ अटेर गर्नुभएपछि बाध्य भएर बर्खास्त गरिएको हो’, मुख्यमन्त्रीका स्वकीय सचिव पौडेलले भने, ‘सबैभन्दा बढी बजेट भएको मन्त्रालयको प्रगति शून्य छ ।’

मुख्यमन्त्री पौडेल र स्थापितबीच सरकार गठन भएदेखि नै मतभिन्नता रहेको प्रदेश ३ मन्त्रिपरिषद् स्रोतले बतायो । उनीहरूबीच राजधानी कहाँ राख्ने, भौतिक पूर्वाधार कुन–कुन ठाउँमा निर्माण गर्ने र कुन–कुन शीर्षकमा बजेट विनियोजन गर्ने भन्ने विषयमा पनि मत बाझिएको स्रोतको भनाइ छ ।

पछिल्लोपटक बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकमा पनि स्थापित र पौडेलबीच चर्काचर्की भएको थियो । बैठकमा मन्त्री स्थापितले जिम्मा लिएको मन्त्रालयकै काम सुस्त भएको मुख्यमन्त्रीले बताएपछि विवाद सुरु भएको थियो । ‘मुख्यमन्त्री र स्थापितमध्ये एकजना बाहिर नरहेसम्म मन्त्रिपरिषद् बैठक नै बस्न नसक्ने अवस्था थियो’, एक मन्त्रीले भने, ‘स्थापितज्यूका काम र व्यवहारबाट मुख्यमन्त्री सन्तुष्ट हुनुहुन्थेन ।’

मन्त्रिपरिषद्मै विवाद भएपछि तनावमा रहेका मुख्यमन्त्री पौडेल बिहीबार साँझै काठमाडौं पुगेका थिए । उनले त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर स्थापितलाई हटाउन सहमति मागेका थिए ।

दुई अध्यक्षबाट अनुमति लिएर स्थापितलाई बर्खास्त गरेको उनको सचिवालयका एक सदस्यले बताए । मुख्यमन्त्री पौडेलले प्रधानमन्त्रीसँग शुक्रबार बिहान पनि भेटेका थिए । स्थापितलाई हटाउने चिठीमा भने उनले बिहीबारै हस्ताक्षर गरेर हिंडेका थिए ।

मुख्यमन्त्रीले बर्खास्तीको निर्णय लिएलगत्तै मुख्यमन्त्री कार्यालयका कर्मचारीले प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा बर्खास्तीको चिठ्ठी बुझाएका थिए । प्रदेश प्रमुख कार्यालयका सचिव शिवलाल तिवारीले मन्त्री स्थापितलाई बर्खास्त गरेको चिठी मुख्यमन्त्री कार्यालयबाट प्राप्त भएको बताए ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);