नेपाली कांग्रेसको चियापान कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

नेपाली कांग्रेसको चियापान कार्यक्रम सम्पन्न

congress

फूलमाया आले
काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दसैं–तिहार, छठ, नेपाल संवत लगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न शुक्रबार चियापान कार्यक्रम गरेको छ । विपी कोइराललाले मेलमिलापका नीति सहित सुरु गरेको चियापानले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।

चियापानमा उपस्थित नेपाली कांग्रेसका नेता कार्यकर्ताले मुलुकमा राजनीतिक परिवर्तन भइसकेकोले आर्थिक सम्वृद्धिका लागि सबै पार्टीहरु एक भएर जानुपर्ने अवस्थामा नेताहरु बीच खिचातानी र मनमुटावको अवस्था आएको बताएका छन ।

नेपाली कांग्रेस केन्द्रिय समितिले आयोजना गरेको चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, नेताहरु विजयकुमार गच्छदार लगायतले स्वागत गरेका थिए ।

वि.सं २०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्केपछि विसं २०३५ साल देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काङ्ग्रेसले चियापान तथा जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । तर यसवर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनको शोकमा भएकोले केहि समय ढिलोगरि शुक्रबार कार्यक्रम आयोजना गरिएको कांग्रेसले जानकारी दिएको छ ।

केन्द्रीय कार्यालय सहित ७४ वटा जिल्लामा गरिएको चियापान कार्यक्रममा देशभर ५ लाख भन्दा बढी मानिसलाई बोलाइएको थियो । केही दिन पहिले सर्लाहीमा पार्टीको कार्यकर्ता मारिएका कारण सर्लाहीमा भने चियापान कार्यक्रम आयोजना गरिएन ।

मुलुकमा राजनीतिक परिवर्तन भइसकेकोले आर्थिक सम्वृद्धिका लागि सबै पार्टीहरु एक भएर जानुपर्ने अवस्थामा नेताहरु बीच खिचातानी र मनमुटावको अवस्था आएको चियापानमा सहभागी नेताहरुले बताएका छन । विपिको मेलमिलापको नीतिलाई आत्मसात गर्दै सबै पार्टीहरु आफ्नो स्वार्थ भन्दा माथि उठेर राष्ट्र र जनताको लागि सोच्नुपर्ने उनिहरुको धारणा छ ।

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, लगायतको सहभागिता रहको थियो ।