तपाई शिवपुरी राष्ट्रिय निकुञ्ज घुम्न जादै हुनुहुन्छ ? यस्तो छ प्रबेश शुल्क | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

तपाई शिवपुरी राष्ट्रिय निकुञ्ज घुम्न जादै हुनुहुन्छ ? यस्तो छ प्रबेश शुल्क

shivapuri visit

अप्सरा गौतम

काठमाडौं, १४ कात्तिक । पर्यटकिय क्षेत्रको व्यवस्थापन खर्च जुटाउने उदेश्यले पर्यटकिय क्षेत्र घुम्नजाने मानिससंग निश्चित रकम लिने गरिन्छ । यस्तो प्रचलन विश्वका अधिकांस पर्यटकिय क्षेत्रमा रहेको छ र यो व्यवस्था नेपालका पर्यटकिय क्षेत्रहरुमा पनि छ । तर आम सर्वसाधरण मानिसको पहुँच वाहिरको शुल्कले भने पर्यटक बढाउने भन्दापनि उनिहरुलाई समस्या बढाउने मात्र काम गर्दछ । यस्तै अवस्था रहेको छ शिवपुरी राष्ट्रिय निकुञ्जको ।

तपाई मोटरसाइकलमा शिवपुरी राष्ट्रिय निकुञ्ज घुम्न एक्लै जादै हुनुहुन्छ भने निकुञ्ज प्रवेश वापत ३ सय २५ रुपैया तिर्नुपर्ने हुन्छ । तर ३ सय २५ रुपैया प्रवेश शुल्क हो भन्ठानेर त्यतिमात्र रकम वोकेर मोटरसाइकलमै २ जना निकुञ्ज पुग्नुभयो भने तपाइँले प्रवेश नपाउने निश्चित छ, किनकी २ जना मोटरसाइकलमा जादाँ तपाइको शुल्क ४ सय ५० भैसक्छ । अझ तपाइ वच्चासहित पुग्नुभयो भने थप शुल्क लाग्छ । त्यतिमात्र होइन गाडीमा १ जना सहितको प्रवेश शुल्क गाडीको २ सय र प्रति ब्यक्तिका १ सय २५ रुपैया तोकिएको छ । तर गाडीमा परीवारका ४÷५ जना सदस्य सहित पुग्नुभयो भने १ हजार रुपैयाभन्दा वढि रकम प्रबेश शुल्कका लागि मात्र छुट्याउनु पर्छ । अन्यथा निकुञ्ज प्रवेश गर्न पाइँदैन । निकुञ्ज व्यवस्थापनका लागि सामान्य शुल्क त ठिकै होला तर एउटा सानो गाडीमा पुग्ने एउटै परीवारका सदस्यका लागि यो निकै ठूलो रकम हो । त्यसो त निकुञ्ज घुम्न जानेका लागि मात्र होइन निकुञ्जको बाटोमात्र प्रयोग गर्नेहरुका लागि पनि त्यतिनै शुल्क तिर्नुपर्छ जति निकुञ्ज घुम्न जानेहरुले तिर्नुपर्छ । शिवपुरी निकुञ्जको बाटो भएर नुवाकोट, चिसापानी लगाएतका क्षेत्र पुग्न सकिन्छ । बाटोमात्र प्रयोग गर्नेहरुसंग यति ठूलो शुल्क न्यायसंगत मान्न कदापी सकिदैन । यो त नेपालीहरुलाई लिइने शुल्क हो । सार्क देशहरुबाट आउने पर्यटकहरुलाई प्रतिव्यक्ति ६ सय ५० तथा अन्य राष्ट्रका पर्यटकसंग १ हजार ५० रुपैया निकुञ्ज व्यवस्थापनले शुल्क तोकेको छ । यसअघि निकुञ्ज प्रवेश शुल्क कम भएपनि गत असोज ३० गतेदेखि निकुञ्जको नयाँ शुल्क लागु भएको निकुञ्ज प्रशासनले जानकारी दिएको छ ।

निकुञ्ज व्यवस्थापनले भने यो शुल्क महंगो नभएको दावी गर्दै आएको छ । तर निकुञ्ज घुम्न गएका कतिपय आन्तरीक पर्यटक शुल्क सुनेर निकुञ्ज नघुमिकनै फर्किने गरेका छन ।

विभिन्न क्षेत्रमा विदेशी पर्यटक भित्राउन नेपाल सरकारले भ्रमण वर्षहरु मनाउने गर्दै आएको छ भने नेपाली पर्यटकलाई आकर्षित गर्न पहिला स्वदेश घुमौ अनि विदेश भन्ने नारा समेत ल्याएको छ । पछिल्ला वर्षहरुमा विभिन्न क्षेत्रहरुमा आन्तरीक पर्यटकको संख्या पनि उल्लेख्य रुपमा वढेको छ । घुम्न लाएक रहेका नेपालका अधिकांश स्थानहरुको पर्यटकको संख्या वृद्धिगरी पर्यटन प्रवर्धन गर्नुपर्ने वेलामा बाटोमात्र प्रयोग गर्नेहरुसंग पनि चर्को शूल्क उठाउदै जाने हो भने पर्यटकको संख्या वृद्धि गर्नुको साटो उनिहरुलाई निरुत्साहित गर्ने काम मात्र हुन जाने निश्चित छ । पर्यटकको संख्या बढाउन चर्को शुल्क कम गर्न सम्वन्धित सरोकारवालाहरुको बेलैमा ध्यान पुग्न आवश्यक छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);