विमल पुरी
भैरहवा, ६ कात्तिक । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थीत गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्धारित समयमै निर्माण सम्पन्न नभएपछि सर्वत्र चिन्ता र चासो बढेको छ । यद्यपी पछिल्लो समयमा विमानस्थलको निर्माण कार्य तिब्र बनाइएपछि निमानस्थल विमानस्थल निर्माणमा ढिलाई नहुने आशा पलाएको छ ।
गौतमबुद्धको जन्मभुमी पर्यटकियस्थल लुम्बीनिलाई ध्यानमा राखेर गौतमबुद्ध विमानस्थल निर्माण कार्यका लागि २०७१ माघ १ मा शिलन्यास गरिएको थियो । प्रारम्भिक तालिका अनुसार सन् २०१७ डिसेम्बर ३१ मा आयोजना निर्माण सम्पन्न भइसक्नु पर्ने थियो । तर तोकिएको समयमा काम सम्पन्न नभएपछि चिनिया कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले अर्काे ६ महिना समय पायो । २०१८ को जुन १५ सम्म निर्माण गरिसक्नुपर्ने समयसिमा पनि विमानस्थलको काम आधा भन्दा धेरै बाँकी रहयो ।
अहिले निर्माण कम्पनिले पुनः थप समय पाएको छ । थपिएको समयमा भने धमाधम काम भइरहेको छ । अहिले सम्म ५५ प्रतिशत काम सम्पन्न भएको विमानस्थल आयोजनाले जनाएको छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । ठेकेदार कम्पनीको माग, परामर्शदाताको अनुगमन र सिफारिसपछि प्राधिकरण बोर्डले सन् २०१९ जुन २८ सम्म समय थपेको छ । ४ बर्षमा आधा काम सम्पन्न गरेको अवस्थामा अर्काे आधा काम सम्पन्न हुन फेरी अर्काे ४ बर्ष लाग्ने हो की भन्ने आशंका कायमै छ । तर यस्तो आशंका गलत भएको प्रमुख अधिकारीको भनाई छ ।
निर्माण सुरु गरेको ३ बर्षमा २६ प्रतिशत मात्रै काम सम्पन्न गरेको ठेक्केदार कम्पनिले पछिल्लो समय चौतर्फी दवावका कारण निर्माण कार्यलाई तिब्र बनाएको जनाएको छ ।
छरितो रुपमा विमानस्थलको काम सम्पन्न नभएपछि अब विमानस्थल कहिले बन्ला र प्रयोगमा आउला भन्ने सर्वसाधारणमा चिन्ता पनि यथावत छ ।
करिब ११ हजार रोपनी बराबरको क्षेत्रफलमा निर्माण भइरहेको यो विमानस्थल मुलुककै सबैभन्दा ठूलो विमानस्थल बन्नेछ । अन्तराष्ट्रिय विमानस्थलको रुपमा नेपालमा त्रिभुवन विमानस्थल मात्रै छ । यही विमानस्थल पनि साँघुरो रहेका कारण एयर ट्राफीकको समस्या दिनप्रतिदिन बढ्दो क्रममा छ ।