परीक्षण उडानको तयारीमा गौतम बुद्ध विमानस्थल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

परीक्षण उडानको तयारीमा गौतम बुद्ध विमानस्थल

बिमल क्षेत्री
बुटवल ।
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिबेरेसन उडानको तयारीमा पुगेको छ । विमानस्थलको संरचना निर्माणको काम सकिएपछि अब क्यालिबेरेसन उडानको तयारी गरिएको हो । विमानस्थलको बाह्य संरचनाको काम सकिएको र अहिले केही उपकरण जडानको काम चलिरहेको आयोजनाले जनाएको छ ।

वि.स.२०७१ सालबाट निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको बाहिरी संरचना निर्माणको काम सम्पन्न भएर भित्र उपकरण जडानको काम अहिले चलिरहेको छ । बाहिरी संरचना निर्माणका धेरै काम सकिएपछि विमानस्थलमा क्यालिबेरेसन उडानको तयारी गरिएको छ ।

विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ छैन भनेर क्यालिबेरेशन उडानबाट परीक्षण गरिन्छ । क्यालिबेरेशन फ्लाइटमा सबै सिग्नल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण सुरु गरिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले बताए ।

उनका अनुसार विमानस्थलमा क्यालिबेरेशन फ्लाइटका लागि एरो थाइसँग सम्झौता भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिले सम्म ९७ प्रतिशत भौतिक निर्माणको काम सम्पन्न भएको छ ।

विमानस्थलमा धावन मार्ग, ट्याक्सी वे , टर्मिनल भवन , विमानस्थल पार्किङ्ग क्षेत्र लगायतका भौतिक निर्माणका काम सकिएको छ । कोरोना संक्रमणको कारणले विदेशमा रहेका कामदारलाई ल्याउन नसक्दा टर्मिनल भवनमा उपकरण जडानको काम प्रभावित हुँदा आयोजनाको समय बढी लागेको देखिएको इञ्जिनियर अधिकारीले जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तर्राष्ट्रिय बोलपत्र अन्तर्गत छ अर्ब ८२ करोड रुपैयाँको काम भएको छ । दोस्रो अन्तर्राष्ट्रिय बोलपत्र अन्तर्गत ५० करोड रुपैयाँको काम र तेस्रो मुआब्जा वितरण २२ अर्ब ४० करोड रुपैयाँको भएको छ ।

त्यसका अतिरिक्त कार्गो निर्माणका लागि ९० करोड रुपैयाँको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा ३० अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ । यो रकम एडीबीको ६२ दशमलब ६ प्रतिशत र नेपाल सरकारको ३७ दशमलब ४ लगानी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);