रौतहट, ४ कात्तिक । स्थानीय सरकारले आफ्नो प्रचारबाजीको लागि केही दिन अगाडी रौतहटको चन्द्रपुर नगरपालीकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको छ । तर, दिशामुक्त क्षेत्र गरिएको यो नगरपालिकामा एउटा पनि सार्वजनिक शौचालय छैन । जसका कारण त्यस ठाउँका सर्वसाधरणहरु खुल्ला ठाँउमा शौच गर्न बाध्य छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकामा केही दिन अगाडिनै खुल्ला दिशामुक्त क्षेत्र घोषणा भैसकेको छ । तर, लाजमर्दो कुरा के छ भने यहाँ दैनिक हजारौ मानिसहरु आवात–जावत गर्ने स्थानमा समेत एउटा पनि सार्वजनिक शौचालय छैन । रौतहटको चन्द्रपुर नगरपालीकामा पूर्व पश्चिम बिरेन्द्र राजमार्ग भएका कारण जिल्ला भरीका मानिसहरु यात्राका लागि बस चढ्न यहाँ आउँछन् । तर, सावजनिक शौचालय नभएका कारण यहाँका यात्रुहरु बाध्य भएर खूला मैदान मै शौच गर्ने बाध्य छन् ।
यहाँ प्रतिदिन हजारौ यात्रुहरु आवात–जावत गर्दछन् । यात्राका क्रममा पुरुष यात्रुहरु खुल्ला ठाँउमै शौच गरेता पनि महिला दीदिबहिनीहरु लाजका कारण खुल्ला ठाउँमा समेत शौच गर्न सकिरहेका छैनन् । जसका कारण यहाँ महिला दीदीबहिनिहरुले झनै ठुलो समस्या झेल्दै आईरहेका छन् ।
नगरपालिका क्षेत्रफल तथा जनसंख्याको आधारमा रौतहट कै सबैभन्दा ठुलो हो साविक चन्द्रनिगाहपुरनगरपालिका । २०६८ को जनगणना अनुसार नगरमा १३ हजार ४ सय ४५ घरधुरी छन । नगरपालिकामा १० वटा वडाहरु छन । नगरपालिका तथा विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको सहयोगमा गत असोज १७ गते भव्य रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको थियो । तर, यस तर्फ कसैले चासो भने दिएको छैन । डलरको खेतीका कारण खुला दिशा मुक्त क्षेत्र हैन, दिशै दिशाको गाउँ घोषणा गरेजस्तो भएको भन्दै स्थानीयले समेत विरोध गरेका छन् ।