बाजा फरक धुन उही | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

बाजा फरक धुन उही

malashree

काठमाडौँ, ३० असोज । मालश्री धुनलाई दसैंको सांगीतिक विशेषता मानिन्छ  । रेडियो, टेलिभिजनदेखि युट्युबसम्म यतिबेला मालश्री धुन छाएको छ  ।

कुनै समय यो गीत थियो, शरद यामको गीत , अहिले एकाध बाहेक यो गीत हराएको छ र धुनमा जीवित बनेको छ । संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार असोज लागेदेखि नै मानिसहरू एकाबिहानै दाउरा या तरकारी बोकेर मालश्री गाउँदै पाटन मंगलबजार आइपुग्थे । किनमेल गरेपछि गीत गाउँदै फर्किन्थे । ‘खासमा यो शरदयामको सिजनल गीत हो’, जोशी भन्छन्, ‘गाउने परम्परा अहिले संकटमा परेको छ ।’

गायनमा हराए पनि धुनमा भने नयाँ–नयाँ रूपमा यो परिष्कृत बन्दै छ । दसैंलाई केन्द्रमा राखी मालश्री धुन छायाँकन गर्ने र युट्युबमा अपलोड गर्ने चलन सुरु भएको छ । रमाइलो के भने यसलाई सितार, बाँसुरी, गितार जुनसुकै बाजामा पनि उतार्ने गरिएको छ । संस्कृतिविद् एवं गायक रामकृष्ण दुवालका अनुसार मालश्री बजाइने खास बाजा भने दुन्दुभी र डमरू हुन् । दुन्दुभी अहिले लोप भइसकेको छ ।

उनका अनुसार विसं २०७२ को भूकम्पअघि हनुमानढोका संग्रहालयमा यो बाजा थियो । अहिले त्यो कता पुग्यो भन्नेबारे थाहा नभएको संस्कृतिविद् दुवालले बताए । ‘भवानी र दैत्यको लडाइँ हुँदा दुन्दुभी बजाइन्थ्यो रे,’ दुवालले मालश्रीबारेको मिथ सुनाए, ‘मालश्री धुन बजाउने प्रमुख बाजा यही मानिन्छ ।’ उनका अनुसार मालश्री अहिले लौकिक शास्त्रीय स्वरूपमा बजाइँदैन । यो आत्मरञ्जन नभई मनोरञ्जनात्मक धुन बनिसकेको दुवालको दाबी छ । त्यही भएर विभिन्न बाजामा यसको अभ्यास हुन थालेको छ । यसपालि नै पनि थुप्रै युवायुवती वा वाद्यवादन टोलीले आधुनिक बाजामा मालश्री धुन बजाउँदै गरेको भिडियो तयार पारेका छन् ।
मञ्जुश्रीले काठमाडौं उपत्यकाको पानी निकास गरेर यहाँ बस्ती बसाएदेखि नै शरद ऋतुमा मालश्री बजाउन थालिएको बताइन्छ । दुवालका अनुसार त्यतिबेला उपत्यकावासीले ऋतुपिच्छेका धुन निर्माण गरेका थिए । मालश्री शरद ऋतु सूचक धुन हो । यसलाई नेपालको मौलिक धुनहरूमध्ये एक मानिन्छ । ‘यस्ता प्राचीन धुन बचाइराख्नुपर्छ’ दुवालले भने, ‘यस्ता असली बाजा जोगाउनतर्फ ध्यान पुगेको देखिदैन ।’
युवा पुस्ताले नयाँ प्रविधिमै भए पनि मालश्री जोगाएकोमा तबलावादक न्हुच्छेबहादुर डंगोल खुसी छन् । क्यानडामा रहेका उनका विद्यार्थीले गितार, हार्मोनियम, मादल, सितार, बाँसुरी आदिमा मालश्री गाएर त्यसको भिडियो छायाँकन गरेर युट्युबमा राखेका छन् । ‘हामीले पहिले पक्षिमा, खि, चुस्या, तिन्छुलगायत बाजामा मालश्री गाउनेरबजाउने गथ्र्यौं,’ उनले भने, ‘अहिले मोडर्न बाजा पनि प्रयोग गरिन्छ ।’ मालश्रीको मूल स्वरूप नबिगारिकन धुन बजाएको देख्दा उनले युवा पुस्ताको प्रशंसा पनि गरे ।
युट्युबमा केही दिनअघि मात्रै लोकेसन नेपालले हवायन गितारमा मालश्री बजाएको भिडियो अपलोड गरेको थियो । ईश्वर जोशीको कम्पोजिसनमा एक दर्जन वाद्यवादकले मालश्री प्रस्तुत गरेका हुन् । श्रेय ब्यान्डको धुन पनि अहिले सामाजिक सञ्जालमा निकै सेयर भइरहेको छ । नेवारको जातीय पोसाकमा सजिएका वाद्यवादकको प्रस्तुतिले ह्दय शान्त तुल्याएको प्रिन्सेस वरिष्ठ नामक युट्युब प्रयोगकर्ताले कमेन्ट गरेकी छन् । क्षेत्रपाल महावीर मंका खल, मनोहर केसी, शुभबहादुर सुनामहरूका मालश्री धुनलाई पनि स्रोताले मन पराएका छन् ।
अचेल मालश्रीलाई दसैं धुन भन्न थालिएको छ । शरद ऋतुमै दसैं परेको हुनाले यसलाई दसैं धुन भनिएको न्हुच्छेले बताए । तर, दसैंसँग मालश्रीको सम्बन्ध रहेको संस्कृतिविद् दुवाल बताउँछन् । ‘अष्टमातृकाको नाचमा मालश्री बजाउने रीत नै छ’, उनले भने, ‘महानवमीका दिन तलेजु भवानीको पूजा गर्दा पनि मालश्री बजाउनुपर्छ । योचाहिँ वीर रसमा बजाइन्छ । यसको ताल पक्ष गाह्रो छ ।’ दुवालका अनुसार मात्रा पनि तल–माथि हुने भएकाले शास्त्रीय स्वरूपमा गाउनरबजाउन छोडिएको हो ।’
न्हुच्छेका अनुसार नेवार संस्कृतिमा सात मात्राको ‘जति ताल’ मा मालश्री गाइन्छ भने भातखण्डे पाठ्यक्रममा सात मात्राकै ‘रूपक ताल’ मा मालश्री राग प्रस्तुत गर्ने गरिएको छ । चार मात्राको ‘चो’ वा ‘कहरवा’ तालमा पनि मालश्री प्रस्तुत गर्ने चलन छ । अनेक बाजा र अनेक संस्थामार्फत् मालश्रीको अभ्यास हुनुलाई नेपाली संगीतकर्मीले गर्वको विषय मानेका छन् । ‘यो सर्वमान्य बनेको प्रमाण हो’, न्हुच्छेले भने, ‘हामीले पनि त्रिभुवन विश्वविद्यालयको स्नातक, स्नातकोत्तर र प्लस टु तहको संगीत पाठ्यक्रममा मालश्री समावेश गरेका छौं ।’
मालश्रीलाई मंगल धुनका रूपमा पनि अपव्याख्या गरिँदै आएको छ । शुभकार्यमा बजाइने धुनहरू मालश्री नभएको दुवालको दाबी छ । मालश्रीलाई पर्व र ऋतुविशेष गीतका रूपमा बुझिदिन उनको आग्रह छ । ‘मालश्री अरू बेला बजाइँदैन’, उनले भने, ‘तीज गीत तिहारमा गाइन्छ । होलीका बेला देउसी गाइँदैन । मालश्री पनि अरू बेला गाउने र बजाउने कुरा आउँदैन ।’ मालश्री धुन सुन्नासाथ दसैं आएको बोध हुने भएकाले यसलाई आत्मबोधक धुन मान्नुपर्नेमा जोड दिए । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);