काठमाडौं, २७ असोज । काठमाडाैं महानगरपालिकाले काष्ठमण्डप पुननिर्माणका लागि थप पाँच करोड उपलब्ध गराएको छ । शनिबार हनुमान ढोका दरबार संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उक्त रकम हस्तानतरण गरेका हुन् ।
रकम प्रदान गर्दै मेयर शाक्यले १८ करोड अनुमानित लागत भएको काष्ठमण्डपको पुननिर्माण महानगरले आफ्नै खर्चमा सम्पन्न गर्ने बताए ।
बसन्तपुर क्षेत्रका सम्पदा पुननिर्माणमा उल्लेख्य प्रगति भइसकेको हनुमान ढोका दरबार संरक्षण समितिले दाबी गरेको छ । भूकम्पले क्षति पुगेका सम्पदाको जीर्णोद्धार, पुननिर्माण तथा मर्मत सम्भारको काम भइरहेको समेत समितिले जनाएको छ ।
बसन्तपुर दरबार क्षेत्रसँग काठमाडौं महानगरका १९, २०, २३ र २४ गरी ४ वटा वडा जोडिएका छन् भने ती वडाहरुले आपसमा मिलेर काम गरिरहेका छन् ।