निजी क्षेत्र राष्ट्र निर्माणको साझेदार हो, कर तिर्ने निकाय मात्र होइन : राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

निजी क्षेत्र राष्ट्र निर्माणको साझेदार हो, कर तिर्ने निकाय मात्र होइन : राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नभई राष्ट्र निर्माणको अभिन्न साझेदार र देशको ‘आर्थिक इन्जिन’ का रूपमा हेर्नुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती (७५ औँ वर्ष) को अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुने धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले नेपालको निजी क्षेत्रको संघर्ष, समर्पण र उपलब्धिलाई स्मरण गर्दै मुलुकको आर्थिक समृद्धिमा चेम्बरले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । कोभिड महामारी, आपूर्ति श्रृङ्खलामा आएको अवरोध र उत्पादनमा आएको गिरावटका कारण अर्थतन्त्रमा केही चुनौतीहरू देखिएको उल्लेख गर्दै राष्ट्रपतिले यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो ।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको चर्चा गर्दै राष्ट्रपति पौडेलले ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) रोक्न स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्ने बताउनु भयो । उहाँले उद्यमशीलता, प्रविधि र सृजनशीलताका माध्यमबाट युवाहरूलाई आर्थिक गतिविधिमा जोड्नु आजको प्रमुख आवश्यकता रहेको औंल्याउनु भयो । परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता र नवप्रवर्तनतर्फ लाग्न आह्वान गर्दै राष्ट्रपतिले डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको विकासमा जोड दिनुभयो ।

जननिर्वाचित संसद र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धि हासिल गर्ने र जनताको जीवनस्तर उकास्ने गहन दायित्व रहेको बताउँदै उहाँले यस अभियानमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । साथै, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई सुदृढ बनाउँदै समग्र विकास प्रक्रियालाई गति दिनुपर्नेमा उहाँको जोड छ ।

Leave a Reply

ताजा समाचार