काठमाडौं, २६ असोज । दशैंमा सबै भन्दा बढी मासु खाने प्रचलन रहेसंगै यतिबेला खसी बोकाको विक्र वितरण सुरु भईरहेको छ । नेपालीहरुको महान पर्व विजया दशमीमा सबै भन्दा बढी मासु खपत हुने गर्दछ । नजिकिदै गरेको दशैंमा संक्रमित पशु पनिसँगै भित्रने भएकाले संक्रमण फैलने गरेकोे विगताका घटनाले देखाईरहेको छ ।
काठमाडौं उपत्यकामा नागढुङ्गा नाकाबाट मात्र वर्षैनी ६१ हजार भन्दा बढी खसी बोका, १ लाख ५० हजार भन्दा बढी भैंसी, पाडापाडी र १४ लाख भन्दा बढी कुखुरा भित्रने पशु सेवा विभागको तथ्याङ्क छ ।
यसरी आएका पशुपन्छी स्वस्थ्य छन् वा छैनन् भनेर परिक्षणका लागी महानगरको सहभागितामा पशु क्वारेन्टाईनले ८ ठाउँमा टोली खटाएको छ । त्यसैगरी बजारमा पनी स्वास्थ्य परिक्षणका लागी परिक्षण टोली खटाएको बिभागले जनाएको छ ।
यसैगरी नेपाल खाद्य संस्थानले आजदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरण सूरु गरेको छ । नेपाल खाद्य संस्थान, बागमती अंचल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट आजदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरणको काम सुरु भएको छ ।
संस्थानका बागमती अंचल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहिबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङग्रा काठमाडौं आईपुगेको जानकारी दिए ।
शुक्रवारसम्म मुस्ताङबाट १ हजार च्याङग्रा काठमाडौं ल्याइनेछ भने हेटौडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौं ल्याउने संस्थानको योजना छ । आज विहान ८ बजेदेखिबाट खसी, बोका र च्याङग्राको विक्री वितरण शुरु भएको छ ।
बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गरिएको संस्थानले जनाएको छ । संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अंचल कार्यालय परिसरबाट दसैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा विक्री वितरण गर्ने गरेको छ । यस वर्ष बाटो अप्ठयारो भएका कारण मुस्ताङबाट च्याङग्रा ल्याउन कठिनाई भईरहेको पनि संस्थानले जनाएको छ ।