काठमाडौं, २० असोज । प्रदेश १ को नामाकरण र राजधानी कहाँ बनाउने भन्नेबारेमा प्रदेश १ मा बल्ल छलफल शुरु हुन थालेको छ । प्रदेशसभामा औपचारिक छलफल नभए पनि प्रदेश १ को सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दल भित्र आन्तरिक रुपमा औपचारिक छलफल अघि बढेको छ ।
प्रमुख दलहरुले प्रदेशको नामाकरण र राजधानीबारेमा औपचारिक प्रस्ताव सार्वजनिक गरेका छैनन । तर छुट्टाछुट्टै प्रस्तावित नामहरुकाबारेमा भने दलहरु भित्र गहन छलफल भई रहेको छ ।
नेकपाको बैठकमा प्रदेशको नाम सगरमाथा, सगरमाथा किराँत, वा किराँत प्रदेश मध्ये के राख्ने भन्नेबारेमा छलफल भइरहेको छ भने नेपाली कांग्रेस भित्र सगरमाथा वा कोशी मध्ये के भन्नेमा छलफल भइरहेको छ । तर छलफल टुंगोमा भने पुगिसेको छैन ।
राजधानीको नामका सम्बन्धमा पनि प्रमुख दलहरुबीच विराटनगरलाई नै बनाउने कि इटहरी, धरान, गोटगाउं वा धनकुटालाई बनाउने भन्नेमा छलफल भईरहेको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस विराटनगरलाई नै बनाउने पक्षमा देखिन्छ भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विराटनगरको विकल्प खोजिरहेको छ ।
यी विषयहले प्रदेश सभाको बैठकमा औपचारिक रुपमा प्रवेश पाएको छैन तर सांसदहरुले भने प्रदेश र राजधानीको नामाकारणमा भईरहेको ढिलाईबारेमा बैठकमै प्रश्न उठाइ रहेका छन् ।




