काठमाडौं, १९ असोज । सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले संसदीय समितिमै शक्तिको दुरुपयोग गरेका छन् । समितिलाई हस्ताक्षेप गरेर निर्णय रोक्ने देखि संचारकर्मीलाई दशैं खर्च लिन आउ भन्दै मन्त्री बास्कोटाले समितिमै धम्क्याउने काम गरेका छन् ।
सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले संसदीय समितिलाई नैं हस्ताक्षेप गरी निर्णय आफ्नो पक्षमा गराएका छन् । संसदको विकास तथा प्रविधि समितिले कार्यकारीले गरेको निर्णय तथा समसामयिक विषयको छलफलका लागि बोलाएकोमा मन्त्री बास्कोटाले ‘यसरी निर्णय गर्ने हो, यसरी गर्न मिल्छ’ भन्दै संसदीय समितिमाथि नैं हस्तक्षेप गरेका छन् ।
मन्त्रीले आफ्नै पार्टीकी सांसद कल्याणी खड्का समिति सभापति भएकाले आफू मातहतको समिति जस्तै गरी के निर्णय गर्न मिल्छ के मिल्दैन भनेर निर्देशनात्मक शैलीमा प्रस्तुत भए । मन्त्री बाँस्कोटा समितिमा प्रस्तुत हुँदै गर्दा आफू कार्यपालिकाको प्रतिनिधि भएर आएको र खड्का उनकै पार्टीकी सांसद नभएर व्यवस्थापिकाको प्रतिनिधि भएको कुरा समेत भुले ।
मन्त्री बाँस्कोटाले समितिमा उपस्थित मिडिया क्षेत्रको समेत बदनाम गर्ने प्रयास गरे । पत्रकारिता क्षेत्रको तेजोबध गर्न आफूले पत्रकाररितामा स्नातक गरेको योग्यता प्रस्तुत गरेका मन्त्री बाँस्कोटाले पत्रकारहरुलाई आवश्यक भए दशै खर्चका लागि आफूकहाँ आउन अनुरोध गरे ।
पत्रकारिता पृष्ठभूमिबाटै आएका मन्त्रीको भनाइबाट उनको पत्रकारिता कस्तो थियो भन्ने प्रश्न उठाउने ठाउँ आएको आलोचकको भनाइ छ ।
संसदीय समितिमा दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको नियुक्ति विधान सम्मत भएको दावी गर्दै सरकार र मन्त्रालयले गर्ने निर्णय सबै बैधानिक हुने उनले बताए । उनले त्यस्तो दावी गरेपनि समितिले भने १५ दिन भित्र आफैले अयोग्य भन्दै बर्खास्त गरेका झाको नियुक्तिको आधार र कारण पेश गर्न निर्देशन दिएको छ ।




