भानु र संस्कृत विद्यालयबीच स्वामित्वको विवाद पुन बल्झियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भानु र संस्कृत विद्यालयबीच स्वामित्वको विवाद पुन बल्झियो

Durbar_high school

प्रकाश शर्मा
काठमाडौं, १९ असोज । दरबार हाइस्कुलको भवनमा रहेका भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयबीच स्वामित्वको झगडा पुनः सुरु भएको छ । चिनियाँ कम्पनीले पुनर्निर्माण गर्न लागेपछि एउटै हाताभित्र रहेका दुई विद्यालयमा स्वामित्व सहित कवाडीको पैसा बाँडफाँडको विषय थप जटिल बन्दै गएको छ ।

वि.सं. १९१० असोज २७ गते जंगबहादुर राणाले थापाथलीमा दरबार हाइस्कुल र वि.सं १९३४ मा रणोद्दिप सिंह राणाले रानीपोखरीमा रानीपोखरी पाठशालाको स्थापना गरेका थिए । रानीपोखरी संस्कृत पाठशालालाई वीर शमशेरले दरबार हाइस्कुलसँगै गाभिदिएपछि दरवार हाइस्कुलमा एउटै भवनमा एक सय अठ्ठाइस वर्षसम्म संचालन हुँदै आएका छन् ।

लालपुर्जा नै नभएको संस्कृत माविसँग कक्षा ६ देखि ११ सम्म २२७ जना विद्यार्थी छन् भने विद्यालयको लालपुर्जा भएको भानु माविमा भने कक्षा एकदेखि दशसम्म करिब ७० जना जति विद्यार्थी छन् । स्वामित्व विवाद कायम रहेका दुबै विद्यालय २०७२ सालको भूकम्पबाट भवन भत्किएपछि वाल्मीकि विद्यापीठमा संचालन हुँदै आएका छन् ।

अहिले चिनियाँ कम्पनीले भवन निर्माणको ठेक्का लिएपछि दरवार हाइस्कुल भवनको कवाडी ४४ लाख मा बेचियो तर त्यसको केही हिस्सा पनि संस्कृत माविलाई दिइएन । जसले संस्कृत माविको समान हैसियतको अस्तित्वमा नै प्रश्न उत्पन्न भएको छ ।

विसं २०६३ सालमा नेपाल सरकारको नाउँमा दर्ता गरिएको भवनलाई २०६४ सालमा पुनः भानु माविकै नाउँमा दर्ता गराइएपछि भानु माविसँग संस्कृत मावि बारम्बार झस्किरहेको छ । संस्कृत माविले आफ्नो अस्तित्व खोज्ने प्रयास गर्दा शिक्षा मन्त्रालय र नापी विभागको मौनता अझै रहस्यमयी बनेको छ । तर, भानु माविले भने मिलेर सँगै पढाउनुको कुनै विकल्प नभएको भनेर पन्छिने गरेको छ ।

विश्वभरि संस्कृत शिक्षाको बारेमा खोज अनुसन्धान भइरहेको अवस्थामा नेपालको पहिलो संस्कृत विद्यालय अस्तित्व विहिन हुनु नितान्त राम्रो पक्ष होइन । एउटै भवनमा एकै समयमा तल्लो तलामा संस्कृत मावि र माथिल्लो तलामा भानु मावि सञ्चालन हुँदा समस्या नभएका पनि होइनन् । तर, समान हैसियतमा रहेका सरकारी विद्यालयहरुको लालपुर्जामा पनि समान हैसियत बनाइदिदा राम्रो हुने सरोकारवालाहरूको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);