दरबार हाई स्कुल : पुरानै स्वरूपमा पुनर्निर्माण अघि बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

दरबार हाई स्कुल : पुरानै स्वरूपमा पुनर्निर्माण अघि बढ्यो

darbar hai school

काठमाडौँ, २० जेठ । विसं १९४८ मा बनाइएको दरबार स्कुल भवन असारमा भत्काइँदै छ । चीनको सहयोगमा अत्याधुनिक भवन बन्ने भएपछि २०७० सालको भूकम्पले जीर्ण बनेको भवन भत्काउन लागिएको हो ।

स्कुल पुनर्निर्माण गर्न नेपाल र चिनियाँ सरकारबीच सहमति भइसकेको छ । त्यसनिम्ति पुरातत्व विभागले मापदण्ड स्वीकृत र काठमाडौं महानगरले प्राविधिक पक्षमा नयाँ भवनको नक्सा पास गरिसकेको छ । पुरातात्त्विक महत्त्वको भवन भएकाले परम्परागत प्रविधि अपनाएर पुनर्निर्माण गर्न पुरातत्त्वले सुझाएको छ । परम्परागत प्रविधिमा चुना, सुर्की आदि प्रयोग गर्नुपर्नेछ । विवाद बढेकाले सन् २०१७ फेब्रुअरीमा भएको सम्झौताअनुसार नक्सा पास हुन समय लम्बिएको हो । महानगर मेयर विद्यासुन्दर शाक्यले नक्सा पास भइसकेकाले निर्माण प्रक्रिया अघि बढेको बताए । उनका अनुसार भवनको बाहिरी स्वरूप पहिलाको जस्तै हुन्छ । ‘भित्रीचाहिँ अलिकति परिवर्तन हुन्छ । आधुनिक ढंगले पूर्वाधार तयार हुन्छ । त्यसमा भानुमावि र संस्कृत मावि रहन्छन्,’ उनले भने ।

पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले ‘सरकार–सरकारबीच भएको सहमतिअनुसार दरबार स्कुलको पुरातात्त्विक भवन पुनर्निर्माणका निम्ति स्वीकृति दिइएको बताए । पुनर्निर्माण प्राधिकरण, पुरातत्त्व विभाग, शिक्षा मन्त्रालय र काठमाडौं महानगरपालिकाले निर्माण प्रक्रिया अघि बढाएका हुन् । महानगरले भवनको अन्डरग्राउन्डमा पार्किङको प्रस्ताव गरेको तर पुरातात्विक मापदण्डअनुसार सम्भव नहुने विभागले जनाएपछि पारित नभएको दाहालले जनाए । दरबार हाईस्कुलको क्षेत्रफल साढे ९ रोपनी छ । सम्झौतापत्रमा उल्लेख भएअनुसार ४ हजार २ सय स्क्वायर मिटर क्षेत्रफलमा ४ तले भवनको नक्सा पास भएको छ । भवन निर्माण सम्पन्न गर्न चिनियाँ मुद्रा ५ करोड ३० लाख ,९० करोड १० लाख रुपैयाँ लागत इस्टमेट गरिएको सम्झौतामा रहेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) आयोजना निर्देशक इमनारायण श्रेष्ठले जनाएका छन् । उक्त भवन २० महिनामा निर्माण सम्पन्न हुनेछ ।

दरबार स्कुलको इतिहास
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमण गरेर फर्केपछि नेपालमा औपचारिक शिक्षाको महसुस गरे । त्यसपछि आफ्ना शाखा सन्तानका निम्ति विसं १९१० मा खोलिएको शिक्षालय नै दरबार स्कुलका नामले परिचित छ । ‘शासन सत्तामा रहेकाहरूका निम्ति देश दुनियाँसँग खुँडा, भाला, खुकुरी, तरबार चलाएर मात्र नभई भूगोल, इतिहास, गणित, अंग्रेजी भाषाको ज्ञान, कूटनीतिक ढंगले राजनीतिक चालबाजी सिक्न अनिवार्य’ ठानेर यो कदम अघि बढाइएको थियो । सुरुमा यो स्कुल थापाथली दरबारको आँगनमा थियो । अंग्रेजी शिक्षक बेलायतबाट झिकाइएका थिए ।

केही समयपछि थापाथलीबाट कान्तिपथस्थित चारबुर्जा दरबार (बहादुर भवन) मा सारियो । त्यसपछि जमलको सेतो दरबार हुँदै नारायणहिटी दरबारभित्र सारिएको थियो । विसं १९३३ मा रणोद्दीप सिंह श्री ३ भएपछि राणाहरूका सेवामा खटिएका जागीरदारका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था गरेका थिए । १९४० सालताका स्कुललाई फेरि थापाथली दरबारको दाखचोकमा सारियो । १९४२ मा रणोद्दीप सिंहको हत्यापछि वीरशमशेर श्री ३ बने । उनले स्कुललाई जमलस्थित दरबारको ढोकानजिक टहरामा सारे । त्यसपछि १९४८ सालमा एउटा ठूलो र लामो भवन बनाउन लगाए । त्यही भवन दरबार हाई स्कुलका रूपमा अहिलेसम्म चिनिँदै आएको छ ।

१९९० सालको भूकम्पले भवनको छानोका केही भागमा क्षति पुगेपछि टायलको सट्टा कर्कटपाताले छाइएको थियो । त्यो भूकम्पपछि विद्यालय मर्मत अवधिभरि त्यहाँका विद्यार्थीलाई पूर्वतर्फ रहेको त्रिचन्द्र कलेजको हातामा सारिएको थियो । २०७२ सालको भूकम्पले यो स्कुल जीर्ण बनेको छ । १९५७ सालमा देवशमशेर श्री ३ भएपछि दरबार स्कुलमा सर्वसाधारण जनताले पढ्न पाउने बनाए भने जुद्धशमशेरले विद्यालयको खर्च गुठीले बेहोर्ने व्यवस्था खारेज गरी पूरै सरकारले बेहोर्ने व्यवस्था गरेका थिए ।

एकै भवन, दुई स्कुल
दरबार स्कुल भवन एउटै छ । यहाँ भुइँतलामा संस्कृत मावि र माथिल्लो तलामा भानु मावि छन् । विसं १९१० दरबार स्कुल सुरु भयो । त्यसपछि दरबार हाईस्कुल, रानीपोखरी पाठशाला र २०२४ सालदेखि भानुभक्त माध्यमिक विद्यालयको नामले चिनियो । विसं १९३४ मा दरबार स्कुलमै संस्कृत पाठशाला स्थापना भयो । त्यो पाठशालाको नाम संस्कृत प्रधान पाठशाला, संस्कृत प्रधान मावि हुँदै अहिले संस्कृत मावि बनेको छ । ‘एउटै भवनको तल संस्कृत, माथि अंग्रेजी शिक्षा पढाइ हुने गरेकाले हाम्रो पाठशालाको मूलढोका, चउर, कम्पाउन्ड पनि साझाजस्तै थिए,’ पूर्वप्रशासक नरेन्द्रराज पौडेलले संस्मरणमा लेखेका छन्, ‘हाम्रा पालामा खेल्ने, उफ्रनेदेखि जाडो महिनामा घाम ताप्ने विषयमा समेत सानातिना विवाद भइरहन्थ्यो । माथिका विद्यार्थी बोली, लवज र भेषभूषामा आफूलाई बढी सहरिया ठान्थे र हामीलाई पाखे सम्झिएर अलि चुत्थो व्यवहार देखाउँथे ।’

वाल्मीकि हातामा अस्थायी टहरा
दरबार हाईस्कुलको जीर्ण भवन नयाँ बन्ने भएपछि भानु मावि र संस्कृत मावि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ हातामा सारिँदै छ । त्यहाँ अस्थायी सिकाइ केन्द्र (टीएलसी) निर्माण गरिएका छन् । विद्यापीठका प्राचार्य गणेशप्रसाद घिमिरेका अनुसार भानु मावि र संस्कृत माविको पठनपाठन सुचारु राख्न दुई वर्षका निम्ति ९ रोपनी क्षेत्रफल उपलब्ध गराइएको छ । विद्यालय निर्माण आयोजनाले विद्यापीठ हातामा टीएलसी बनाउने काम अन्तिम चरणमा पुर्‍याएको छ ।

विद्यापीठ हातापूर्व धोबीखोला किनारातर्फको कम्पाउन्डमा १८ मिटर चौडाइ र ५० मिटर लम्बाई क्षेत्रफलमा दुई विद्यालयको अस्थायी प्रिफेब टहरा बनाइएको हो । दुवै विद्यालयको पाँच–पाँचवटा कक्षाकोठा, शिक्षक कार्यालय तथा छात्रछात्राको छुट्टाछुट्टै शौचालय बनाइएको छ । विद्यापीठ र दुई विद्यालयको प्रवेशद्वारसमेत छुट्टाछुट्टै रहने छन् । विद्यार्थी बस्ने डेस्कबेन्च तथा शिक्षक, कर्मचारीले प्रयोग गर्ने कुर्सी, टेबल पुरानै प्रयोग गरिने छ । संस्कृत माविमा कक्षा ६ देखि १० सम्म पढाइन्छ । प्रधानाध्यापक बद्री दाहालका अनुसार नयाँ शैक्षिक सत्र २०७५ मा १ सय ५३ जना विद्यार्थी भर्ना भएका छन् । १६ शिक्षक तथा ४ कर्मचारी छन् । संस्कृत पढ्ने विद्यार्थी उपत्यका बाहिरका छन् । उनीहरू तीनधारा पाठशाला छात्रावासमा बसेर पढ्न आउँछन् । त्यसैगरी भानुमाविमा कक्षा १ देखि १० सम्म पठनपाठन हुन्छ । प्रधानाध्यापक हेमचन्द्र महतोका अनुसार यो सत्रमा १ सय ५० जनाजति विद्यार्थी भर्ना भएका छन् । त्यहाँ २३ जना शिक्षक र कर्मचारी कार्यरत छन् ।

विद्यालय अन्यत्र सारिने भएपछि भर्ना गरिएका बालबालिकालाई समस्या आइपरेको प्रधानाध्यापक महतोले बताए । ‘साना बालबालिका दुई ठाउँ सडक पार गरेर जान सक्दैनन्,’ उनले भने, ‘त्यसैले नजिकै त्यौड माविको भवनमै हाम्रा नानीलाई पठनपाठन व्यवस्थापन गर्ने पहलमा जुटेका छौं ।’ टोलैपिच्छे विद्यालय रहेको स्थितिमा भानु माविको कक्षा ६ देखि १० सम्मका विद्यार्थी कुन आधारमा निरन्तर रहलान् भन्ने सवाल जटिल छ । आजको कान्तिपुरमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);