वीरगन्ज, १६ असोज । सरकारले कुस्ती खेललाई वेवास्ता गरेपनि तराई मधेशमा भने यस खेलप्रतिको आर्कषण घटेको छैन । कुस्ती खेलप्रति मधेसका युवाहरुको प्रेम अहिलेपनि बढ्दो क्रममै रहेको छ ।
मधेसमा औधी रुचाइएको कुस्ती खेलप्रति स्थानीय युवा र अगुवाले चासो लिएपछि बीरगन्जमा भव्य अखडा संचालनमा आएको छ । स्थानीय कुस्ती बाजहरुकै प्रयासमा अहिले बीरगन्ज महानगर–१३ राधेमाई स्थित मढियामा अखडा संचालन भइरहेको हो । कुस्तीको लागि उर्वर भुमी मानिएको पर्सामा कुस्तीलाई जोगाउन यहाँका कुस्तीवाजहरु आफैँ सक्रिय भएर लागेका छन् ।
अखडामा विहान ६ बजेदेखी नै स्थानीय खेलाडीहरुको जमघट तथा दर्शकको भिड लाग्ने गरेको छ । यस अखडामा विभिन्न राष्ट्रीय प्रतियोगताका साथै नेपाल प्रहरीका कुस्ती खेलाडी पनि प्रशिक्षण दिने गरेका छन् ।
कुस्तीप्रतिको लगाव र देशका लागि पुरस्कार जित्ने लक्ष्य बोकी राष्ट्रिय खेलाडीहरुले पनि प्रशिक्षण लिएका छन् । कुस्तीका लागि नेपाल भरीमा एउटामात्र म्याट रहेको छ । त्यो पनि च्याती सकिएको खेलाडीहरु बताउँछन्
नेपालमै अत्याधिक रुचाइएको यो खेल सरकारी उदाशीनताले लोप हुन लागेपछि स्थानीयले आफ्नै पहलमा अखडा संचालन गरेका हुन् । दर्जनौ राष्ट्रिय, आधा दर्जन अन्तर्राष्ट्रीय प्रतियोगितामा मेडल जितेका मदन यादव यो अखडाका गुरु हुन् ।
सरकारले केही नगरेपनि उनी आफ्नै खर्च तथा समुदायको सहयोगमा विभिन्न राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षण दिने गरेका छन् । मदन यादवको परिवारमा प्राय सबैले कुस्ती खेलाडीको रुपमा नाम कमाए ।
स्थानीय कुस्ती बाजहरुकै कारण नेपाली कुस्ती टिकेको छ । यहाँ खेलाडी उत्पादन हुन थालेका छन् । खेलाडीको आकर्षण पनि बढिरहेको छ । खानपिनमा विशेष ध्यान दिने कुस्ती खेलाडीहरूको नियमित आयस्रोत नहुँदा नयाँ पहलवानहरुलाई समस्या हुने गरेको छ । नेपालमा त कुस्तीका लागि आवश्यक खेलमैदान “अखडा” समेत छैन । पहलवानलाई खानादेखि अभ्यास तथा अन्य सबै व्यवस्था सरकारी निकायले गर्नु पर्ने मांग कुस्तीबाजहरुले गरेका छन् ।