दाइजो नल्याउँदा डाडुले डामियो | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

दाइजो नल्याउँदा डाडुले डामियो

pidit mahila

रुपन्देही, १५ असोज । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भैसहियाकी २३ वर्षीया अमरावती तेलीलाई दाइजो नल्याएको आरोपमा तातो फलामको डाँडुले डामी यातना दिएको घटना बाहिर आएको छ।

भदौ ३० गते भएको उक्त घटनामा परिवारका सदस्यहरूले आफूलाई घरभित्र थुनी तातो डाडुले डामेको अमरावतीले प्रहरीलाई बयान दिएकी छन्। घटनाको ६ दिनपछि (असोज ७ गते) उनले आमाबुवासहित इलाका प्रहरी कार्यालय लुम्बिनी गई जाहेरी दिएकी थिइन्।

त्यसपश्चात् प्रहरीले घटनामा संग्लन पीडितका पति २३ बर्से गोविन्द तेली र ६५ बर्से ससुरा मेघा तेलीलाई पक्राउ गरी कारवाही अघि बढाएको छ। उनकी सासू ६० वर्षीया बगौडी भने फरार रहेको र उनको खाजी भइरहेको प्रहरीले जनाएको छ।
पीडित अमरावतीले दाइजोको रूपमा साइकल नल्याएकाले परिवारले उनको दुवै खुट्टाको तिघ्रा र पिडुलामा फलामे डाडुले डामेर यातना दिएको रुपन्देही प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए। घरभित्र पीडितको हातखुट्टा बाँधेर उनलाई तातो डाडुले डामिएको बताइएको छ।

रूपन्देहीको मायादेवी गाउँपालिकाकी अमरावती र लुम्बिनीका गोविन्दको एक वर्षअघि विवाह भएको थियो। विवाह भएको केही समयमै परिवारमा कलह उत्पन्न भएको थियो। उनीहरू विपन्न परिवार हुन्। परिवारले विवाहपश्चात् विभिन्न किसिमको यातना दिँदै आएको पीडितको भनाइ छ।

पक्राउ परेका तेलीले आफ्नी श्रीमतीले अन्यसँग मोबाइलमा कुराकानी गर्ने गरेको शंकाले आफू आवेशमा आएर उक्त घटना घटाएको प्रहरीलाई बयान दिएका छन्। तर, उनकी श्रीमतीले भने दाइजोको रूपमा साइकल नल्याएको कारण आफुलाई डामिएको बताइन्।

घटनामा संग्लन आरोपमा पक्राउ परेका ससुरा मेघाले आफू घटनाको समयमा खेतमा रहेको दाबी गरेका छन्। पीडित अमरावतीको भैरहवा भीम अस्पतालमा उपचार भएको र हाल उनी माइतमा रहेको प्रहरीले जनाएको छ। घटनामा संग्लनउपर विवाहसम्बन्धी कसुर मुद्दाको दफा १७४ बमोजिम जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरी घटनाको थप अनुसन्धान भइरहेको डीएसपी ढुंगेलले बताए।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले विगतमा यस्ता घटना घरभित्रै दबाएर राख्ने गरिए पनि आजभोलि बाहिर आउने गरेको बताए। उनले आफूहरूले जनतालाई जागरुक बनाउने विभिन्न किसिमका कार्यक्रम सञ्चालन गरेकोले पनि पीडित न्यायको लागि ढिलै भए पनि प्रहरी कार्यालयमा उजुरी दर्ताका लागि आउने गरेको बताए। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);