काठमाडौं, १० असोज । संघीय संसदको विकास तथा प्रविधि समितिले दशैंको अग्रिम टिकट सहज रुपमा उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सर्वसाधारणलाई दशैंको अग्रिम टिकट सहज रुपमा पाउने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
दशैंको अग्रिम टिकट बुकिङ सहज नभएको सर्वसाधारणले गुनासो गरेपछि त्यसलाई तत्काल सहज बनाउन सरकारलाई सचेत गराइएको समितिका सभापति कल्याणी खड्काले जानकारी दिए ।
तोकिएको मूल्यभन्दा बढिमा टिकट विक्री गरे त्यस्ता व्यवसायीमाथि कडा कार्वाही गर्न पनि समितिले सरकारलाई सचेत गराएको छ । समितिले सडक सुरक्षाको उचित व्यवस्था गर्न पनि सरकारलाई भनेको छ ।
चाडबाडका बेला नागरिकको सुरक्षालाई ध्यानमा राखेर क्षमताभन्दा बढि यात्रु नराख्न पनि सरकारलाई सचेत गराइएको सभापति खड्काले बताए । समितिले सडक सुरक्षालाई ध्यानमा राखेर देशभर ट्राफिक प्रहरी परिचालन गर्न पनि सरकारालाई निर्देशन गरेको छ ।
समितिले चाडपर्वका बेला भएकाले यात्रुको सुरक्षालाई ध्यानमा राखेर लामो दुरीका सवारी साधनमा २ वटा चालकको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । त्यसैगरी थोत्रा सवारी साधन चलाउन नदिन कडा निगरानी राख्न पनि समितिले सरकारलाई सचेत गराएको छ ।