बजार खोज्दै लिम्बू फिल्म | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बजार खोज्दै लिम्बू फिल्म

limbu film

सुनसरी, ३१ भदौ । पूर्वका लिम्बू समुदायको लोक संस्कृतिमा आधारित लिम्बू फिल्म ‘के साङ्ला’ प्रदर्शनीको पर्खाइमा छन् निर्देशक लोकेन साँवा म्युजिक भिडियो र केही ठूला पर्दाको सहायक निर्देशक भई एक दशक लामो अनुभव बटुलेका साँवा आफ्नो डेब्यु फिल्म ‘के साङ्ला’ लाई लिएर उत्साहित छन् ।

सांस्कृतिक पक्षलाई समेटेको बताउने लिम्बूले फिल्म प्रदर्शनी हङकङबाट थाल्ने तयारीमा रहेको बताए । फिल्मको सुटिङ पूर्वी पहाडी भेगमा गरिएको हो । लिम्बू संस्कृति र जनजीवनलाई मिहिन रूपमा देखाउने प्रयास गरेको बताउँदै निर्देशकले फिल्मबाट आशा गरेको बताए । फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बू, विशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पङयाङ्गु, कुमार सुब्बा, कुमार लिम्बू, महिमा लिम्बू र गंगा तुम्बाहाम्फेलेको अभिनय रहेको छ ।

साँवाभन्दा दुई दशक अघिदेखि मूलधारका नेपाली फिल्मसमेत निर्देशन गरिसकेका किशोर सुब्बाको लिम्बू भाषाको अर्को फिल्म ‘साम’ को शुक्रबार मात्रै ललितपुरमा पहिलो च्यारिटी सो भयो । त्यसैगरी सागर केरुङको लिम्बू फिल्म ‘के’ प्रदर्शनीको पर्खाइमा छ ।

पछिल्लो समयमा नेपाली फिल्मको बाढी आइरहेको बेला लिम्बू भाषामा बनेका फिल्म पनि उल्लेख्य संख्यामा बन्न थालेका छन् । आधा दर्जन फिल्म अझै प्रदर्शनीको पर्खाइमा छन् भने त्यति नै संख्यामा छायांकन भइरहेका छन् । २०४९ मा पहिलो पटक निर्मात्री शोभा खजुमले नवीन सुब्बाको निर्देशनमा ‘तरेवा’ बनाएर सुरु भएको लिम्बू भाषाको फिल्मको इतिहास लामो भने छैन । यद्यपि, २६ वर्षको अन्तरालमा झन्डै २५ लिम्बू भाषाका फिल्म बनेका छन् ।

लिम्बू भाषाका फिल्म भनिए पनि अधिकांशमा भने संवादका बीचबीचमा नेपाली भाषा पनि प्रयोग गरिएका छन् । नेपालको पूर्वी भेगमा बस्ने लिम्बू समुदायको जनजीवन गैरलिम्बू समुदायसँग पनि घुलमिल हुने भएकाले फिल्ममा गैरलिम्बू पात्रले बोल्ने भाषालाई जस्ताको त्यस्तै नेपाली भाषा प्रयोग गर्न दिइएको यसका फिल्मकर्मीहरू बताउँछन् । लिम्बू भाषाको फिल्म निर्माण र निर्देशनको ‘पायोनियर’ मानिएका नवीन सुब्बा र शोभा खजुम निरन्तर यसै क्षेत्रमा व्यस्त छन् ।

नवीन सुब्बाको ‘नुमाफुङ’ ले अन्तर्राष्ट्रिय ख्याति नै कमायो । लिम्बू भाषा र संस्कृतिमा फिल्म बनाउने लहर नै चल्यो । तर त्यसपछिका फिल्महरूले खासै लोकप्रियता कमाउन भने सकेको देखिएन । फिल्म निर्देशक प्रताप सुब्बाले ‘थत्थामा’ र किशोर सुब्बाले ‘आनी साक्थिम’ बनाए । निर्देशकद्वय प्रताप र किशोर नेपाली फिल्म जगतका स्थापित निर्देशकहरू पनि हुन् । तर उनीहरूले निर्देशन गरेका ती फिल्मले ‘नुमाफुङ’ को जस्तो उचाइ लिन सकेनन् । हुन त, लिम्बू भाषाका फिल्म सबैभन्दा बढी निर्देशन गर्नेमा किशोर नै पर्छन् । उनले ‘आनी साक्थिम’ पछि ‘थोक्ला’, ‘अम्लारीफुङ’, ‘हेत्लुक्वा’ र ‘साम्’ निर्देशन गरेका छन् । नयाँ पुस्ताका निर्देशकमा सागर केरुङले ‘नाहेन’, ‘पुङ्साम’ र ‘के’ फिल्म निर्देशन गरेका छन् ।
सूर्यप्रकाश चेम्जोङले ‘माराम’, रवि सेर्माले ‘क्येबा कोक्मा’, मौसम इम्बुङले ‘चेसुङ’, अरुण प्रधानले ‘फुङामा’, गोविन्द इङ्समले ‘सिसाम’, थेयुसा फागोले ‘लुङमा तुक्किल्ले’, दुर्गा नेम्बाङले ‘खाप्पुना मरङना’, सूर्यप्रकाश चेम्जोङले ‘पेकोरुसामा’ र सागर केरुङले ‘तुम्याहाङ’ निर्देशन गरेका छन् । लिम्बू भाषाको फिल्म निर्माण र निर्देशन गर्ने लहर चले पनि पर्याप्त खोज अनुसन्धान, लगानी, नयाँ प्रविधि, प्रशिक्षित कलाकार, बजार र बजारीकरणको अभाव सधैं खटकिएको निर्माता, निर्देशक तथा अभिनेत्री शोभा खजुमको भनाइ छ ।

उनले भनिन्, ‘लिम्बू भाषाका फिल्महरू त बनेका बनेकै छन् । तर व्यावसायिक रूप दिनका लागि बजारको अभाव देखिएको छ । अध्ययन र लगानीको पनि अभाव छ । यस्तोमा बनेका फिल्महरूले संस्कृति र भाषा संरक्षणमा भने ठूलो योगदान दिएका छन् ।’ उनले सरकारले नेपाली फिल्मलाई सहयोग गरे पनि लिम्बूलगायत आदिवासी जनजाति समुदायको फिल्मका लागि कुनै सहयोग नगरेको गुनासो गरिन् ।

लिम्बू फिल्मले कलाकारहरू पनि उत्तिकै जन्माएको छ । पहिलो नायक नरप्रसाद लुङ्फुङवा (तरेवा) देखि हालसम्म आइपुग्दा तीन दर्जन बढी कलाकार जन्माइसकेको छ । तर ती कलाकार मूलधारे भनिएका नेपाली फिल्ममा भने जम्न सकेका छैनन् । बरु, नेपाली फिल्ममा जमेर लिम्बू भाषाका फिल्ममा अभिनय गर्नेहरूको संख्या बढी छ ।

प्रेम सुब्बा, किशोर सम्बाहाम्फे, भिस्मा जेम्जोङ, सृजना पन्धाक सुब्बा, अप्सरा शेर्मा, आशिस लिङेनलगायत लिम्बू कलाकार सबैले नेपाली फिल्ममा आफ्नो छाप बनाएका छन् । लिम्बू फिल्मले रमेश सिंगक, अनुपमा सुब्बा जन्माएर चर्चा पाएका थिए । यासेली यङहाङ, नवीन मेन्याङ्बो, कल्पना यङहाङ, आइन्द्रसुन्दर नेम्बाङ, पुस्पा लिम्बू, रुकमान लिम्बू, हस्त लिवाङ, कल्पना योङहाङ, उदय सुब्बा, केदार श्रेष्ठ, बिमू थेगिम, चन्द्र लिम्बू, देउमान केरुङ, सावित्रा इङनाम, विक्रम फागो वनेम, विष्णु चेम्जोङलगायतलाई कुनै न कुनै लिम्बू वा नेपाली भाषाका फिल्ममा सानै भूमिकामा भए पनि देखिएका छन् ।

लिम्बू भाषाकै फिल्ममा अभिनय गरेर ‘करिअर’ बनाइरहेका नयाँ पुस्ताका कलाकारहरूमा रञ्जिता साउदेन, बबिता फोम्बो, प्रवीन पन्धाक, सविन तुम्बाहाम्फे, राजकुमार आङेम्बे, पुस्पा आङेम्बे, राजकुमार लिङदेन लगायतको जमात तयार हुँदै छ । एउटा लिम्बू भाषाको फिल्म तयार गर्न कम्तीमा ६ महिना लाग्ने र बजेट २० लाखदेखि ३० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । रहरैरहरमा बनेका लिम्बू फिल्मले नाफा कमाएको आफूले सुन्न नपाएको फिल्म निर्देशक लोकेन साँवाले बताए ।

उनले भने, ‘भाषा र लिम्बू लोक संस्कृतिप्रेमीले नाफाका लागि भन्दा पनि भेषभूषा, कला संस्कृति र भाषा जोगाउन फिल्म बनाइरहेका छन् ।’ उनका अनुसार फिल्म तयार भएपछि नेपालमा भन्दा हङकङ, बेलायत, सिंगापुर, अमेरिका बसेका लिम्बू समुदायमा च्यारिटी सो गरेर सक्नेले लगानी उठाउने गरेका छन् । नेपालमा चल्तीमा डेढ सयभन्दा बढी हलहरू छन् । तर लिम्बू समुदायको घना बस्ती भएका झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, संखुवासभा लगायतका साना ठूला सहरी क्षेत्रका फिल्म हलमा कमै मात्र लिम्बू फिल्मले सार्वजनिक प्रदर्शनी पाएका छन् ।

याक्थुङ चोक मुन्चोइत सयङ लिम्बू फिल्म संघका महासचिव विक्रम फागो वनेमले भने, ‘आयातित संस्कृतिले गाँजेकाले होला लिम्बू फिल्महरू पनि विशुद्ध लिम्बू जनजीवन, मिथक र मुन्धुममा आधारित कथानक बन्न सकेका छैनन् । जति बनेका छन् मिश्रित छन् ।’ उनले लिम्बू संस्कृति र जनजीवनमा अनेक कथाहरू रहेका तर सूक्ष्म रूपमा अध्ययन गरेर उत्कृष्ट फिल्म बनाएमा भाषिक बजार खोजी गर्नु नपर्ने दाबी गरे । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);