शुक्रबारेमा राखिँदै घण्टैपिच्छे बज्ने मौलिक धुनसहितको घडी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

शुक्रबारेमा राखिँदै घण्टैपिच्छे बज्ने मौलिक धुनसहितको घडी

sukrabare

तेह्रथुम, ३ असोज । च्याब्रुङकै धुनमा घण्टैपिच्छे बज्ने घडी , घडीको आकार पनि च्याब्रुङकै । लिम्बू जातिको संस्कृति बोक्ने च्याब्रुङ घर (केपाङ) नै बन्दै छ ।

छथर गाउँपालिकाको केन्द्र शुक्रबारेमा त्यहींबाट आसपासका गाउँ–टोल सबैले थाहा पाउने गरी घण्टैपिच्छे बज्ने मौलिक धुनसहितको घडी पनि राख्न लागिएको हो । घडी त एउटा आकर्षण मात्र पो  च्याब्रुङ घरभित्र बेग्लै संग्रहालयसमेत हुनेछ । त्यसमा लिम्बू जातिभित्रका अनेक थरले चाडबाडमा प्रयोग गर्दै आएका सामान, जन्म, मृत्यु र विवाह संस्कारलगायत झल्कने सामान हुनेछन् । ‘परम्परागत लिम्बू संस्कृतिलाई च्याब्रुङले बचाइराख्नेछ । त्यही कारण यो घर बनाउन लागिएको हो,’ छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले भने ।

एक करोड रुपैयाँ लागत अनुमान गरिएको यो घरको काम सुरु भइसकेको छ । तीन वर्षभित्रै बनाइसक्ने लक्ष्य राखिएको छ । लिम्बू भाषामा ‘के’ को अर्थ बाजा अर्थात् ढोल र ‘पाङ’ को अर्थ घर भन्ने हुन्छ । च्याबु्रङ घरमा लिम्बू जातिको संग्रहालयबाहेक ५ सयजना अट्न सक्ने फराकिलो सभाहल पनि बन्दै छ । घरको माथिल्लो भागमा टाढैबाट देखिने गरी च्याब्रुङकै आकारमा घडी पनि हुने गाउँपालिका प्रवक्ता राजन नेपालीले जानकारी दिए ।

यो कामका लागि गत वर्ष नै २० लाख रुपैयाँ छुट्याइएको थियो तर समय अभावले ३ लाख रुपैयाँ मात्र खर्च भएको छ । क्रमागत योजनाका रूपमा बजेट व्यवस्था गरेर घर निर्माण गरिने अध्यक्ष लिम्बूले बताए । छथर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले च्याबु्रङ घर निर्माण थालिएको हो । संग्रहालयमा राख्न सामान खोजी गर्ने कामसमेत भइरहेको छ । लिम्बू जातिका पुर्खाले पूर्वी नेपालमा राज्य गर्दा प्रयोग गरेका हतियारहरू ढाल, तरबार, तोप, भरुवा बन्दुकलगायत सामानसमेत संकलन गरेर राखिने लिम्बू संस्कारका जानकार थानाहाङ तिगेलाले बताए ।
छथर गाउँपालिकाभित्रै २ स्थानमा निसानहरू छन्, जहाँ पुराना सामग्री बेवारिसे छन् । घरलाई जातीय संग्रहालयका रूपमा विकास गरी इतिहास, धर्म, संस्कार, संस्कृति र पहिचानसँग जोडिएका पुस्तकसमेत राख्ने गरी पूर्वाधार निर्माण थालिएको हो । चालु आवमा खर्च गर्ने गरी गाउँपालिकाले २० लाख रुपैयाँ खर्च छुट्याएको छ । गत वर्ष बचत भएको १७ लाख रुपैयाँसमेत यसै वर्ष खर्च गर्ने गरी काम भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए ।
यसअघि ‘प्रधानमन्त्री पार्क’ निर्माण सुरु गरिसकेको छ । गाउँपालिकाले शुक्रबारे बजार नजिकैको डाँडामा छथर भ्युपार्क पनि बनाइरहेको छ । च्याब्रुङ लिम्बू समुदायको परम्परागत लोकबाजा हो । उधौली र उभौली पर्वमा यो बाजा बजाएर नाच्ने चलन छ । झन्डै मादलजस्तै ठूलो काठको ढुंग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने यो बाजामा खरीको प्रयोग गरिँदैन ।च्याबु्रङ लिम्बू समुदायको प्रचलित नृत्य पनि हो ।

घरपैंचो (नयाँ घरमा सरेका बेला) जस्ता रमाइला अवसरमा च्याब्रुङ बजाएर नाच्ने चलन छ । यो नाच वृत्ताकार शैलीमा घेराबन्दी भएर मुन्धुम गाउँदै नाचिने च्याबु्रङ नाचमा पूर्वमा कहलिएका युवा लालीगुराँस नगरपालिका–९ सोल्माका दिलकुमार लिम्बूले बताए । च्याब्रुङ बजाउँदा प्रायजसो दाहिने ताल हातले एकपटक र देव्रे ताल लट्ठीले दुईपटक हिर्काएर बजाइने गरेको लिम्बूले बताए ।

च्याब्रुङ नाचको आधारभूत ताल कुसरक्पा हो । यसमा पनि विविधता हुने गरेको लिम्बूले बताए । यो कहिले गोलो घेरामा, कहिले अर्धगोलाकार त कहिले सरल रेखामा नाचिन्छ । यसमा सबैले एउटै तालमा खुट्टाहरू अघिपछि सार्छन् भने हातले गर्ने अभिनय पनि रोचक हुन्छ । रमाइलो के भने, च्याबु्रङ पारखीहरूले त्यसको गति, बोल र अभिनय हेरेरै नृत्य कहाँ पुग्यो भन्ने थाहा पाउन सक्छन् ।यो नृत्यमा कुखुराको भाले, परेवा, मयूर, ढुकुर, कोइली, भँगेरा, सर्प, पतली, दुम्सी, मृग, बाँदरजस्ता जीवजन्तुको हाउभाउको अनुकरण गरिने लिम्बूले बताए । च्याब्रुङ नाच विवाह, भोजभतेरमा तन्नेरीहरू नाच्छन् भने देवीदेवताको पूजाआजामा परिवारका सदस्यहरू समूहमा नाच्छन् । यो नाचमा गाइने मुन्धुममा पृथ्वीको वर्णन गरिन्छ ।

लिम्बू समुदायको धर्मग्रन्थ मुन्धुमअनुसार सृष्टिको उत्पत्तिदेखि मानव सभ्यताको विकासक्रमसँगै सोदुगेन लेमुहाङको पालादेखि च्याब्रुङ बजाउन सुरु भएको पाइन्छ । यो बाजा बजाउँदा दाहिनेपट्टिबाट ‘च्याङ’ र देब्रेपट्टि ‘बरुङ’ साङला (ध्वनि) निस्कन्छ । च्याब्रुङसँगै केलाङ नाच्दा गाइने गीतलाई ‘केसाम’ भनिन्छ । केसाममा प्रगति र उन्नतिको आशीर्वाद दिइन्छ । केसाम सोदुगेन लेमुहाङको छोरा पाजइबाको पालायता सुरु भएको पाइन्छ । मुन्धुमअनुसार पाजाइबाले घर बनाएपछि अनुष्ठान नगर्दा अनिष्ट हुने, घर भत्किरहने, किच्याएर मार्नेलगायत अनिष्टहरू देखापर्न थाले ।

त्यसपछि नयाँ घर बसाइमा केसाममार्फत उन्नति र प्रगतिको आशीर्वाद माग्न र दिन थालियो । पहिले पहिले बस्तीहरू थिएनन् । घना जंगलहरू मात्र थिए । त्यतिबेला जंगली जनावरबाट बच्न च्याब्रुङ बजाउँदै
हिँड्दा जंगली जनावरहरू भाग्ने गर्थे । जनावरहरू भागेको र नाचेको जस्तै बजाउन र नाच्न थालेयता च्याब्रुङमा विभिन्न जीवजन्तुहरूको नाच पनि नाच्ने गरिन्छ ।

केपाङ निर्माणपछि छथर क्षेत्रमा सांस्कृतिक पर्यटनको विकास हुने र यसले पूर्वी नेपालका साथै भारतको सिक्किम, दार्जिलिङलगायत स्थानका पर्यटकलाई समेत आकर्षित गर्ने सांसद भवानीप्रसाद खापुङले बताए । विश्वरभर छरिएर रहेका लिम्बू समुदायको संस्कृतिसँग जोडिएको केपाङले छथर क्षेत्रको मात्र नभई समग्र पूर्वीक्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने प्रदेश सांसद लक्ष्मण तिवारीले बताए । केपाङ निर्माणका लागि गाउँपालिकाको बजेटले नपुगे प्रदेश सरकारको समेत सहयोग रहने उनले बताए । आजको कान्तिपुरमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);