दलित महिलालाई माेसाे दल्ने चार हजार धरौटीमा छुटे | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

दलित महिलालाई माेसाे दल्ने चार हजार धरौटीमा छुटे

paisa

विराटनगर, १६ चैत । ऋण फिर्ता माग्दा दलित महिलालाई मोसो दलेर सार्वजनिक ठाउँमा कुटपिट गर्नेहरू चार हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले पारस लिम्बू, फिफराज लिम्बू, गोमा खड्का, उषा लिम्बू, विमला लिम्बू, प्रमिला लिम्बू र पथरी शनिश्चरे नगरपालिकाका बोर्ड सदस्य गीता विश्वकर्मालाई शुक्रबार जनही चार हजार धरौटीमा छाडेको हो ।

उनीहरूले पथरी शनिश्चरे नगरपालिका–८ दोलु शुक्रबारे गाउँकी ३० वर्षीया शारदा बराइलीलाई ५ चैतमा गाउँकै चौतारोमा लगेर मोसो दल्दै कुटपिट गरेका थिए । ऋण लिएको दुई लाख रुपैयाँ माग्दा छिमेकी पारस लिम्बूको समूहले शारदालाई चरित्रहीनको आरोप लगाउँदै कुटपिट गरेको थियो । घटनामा संलग्न ओमनाथ बराइली, यशोदा थापा र ओममनी लिम्बू र अर्का एक फरार छन् ।

सही गर्न लगाए : पीडित
पीडित शारदा बराइलीले प्रहरीले नै झुटो बयानमा सही गर्न लगाएर अन्याय गरेको बताएकी छिन् । विराटनगरको अस्पतालमा उपचार गरेर घर फर्किएपछि सादा पोसाकका प्रहरी घरमै आएर बाटो निर्माणसम्बन्धी कामका लागि निवेदन भन्दै झुक्याएर झुठो बयानमा सही गर्न लगाएको उनले बताइन् । त्यही बयानका आधारमा दोषीहरुलाई उन्मुक्ति दिएको उनको गुनासो छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।