काठमाडौं, २८ भदौ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सरकार र मन्त्रीहरुप्रति नागरिकमा नकारात्मक धारणा विकास भएको स्वीकार गर्दै सरकारले त्यसमा सुधार गर्ने बताएका छन् ।
उद्योग बाणिज्य संघ र आर्थिक पत्रकार समाजले बिहीवार संसदमा विचाराधिन उपभोक्ता संरक्षण सम्बन्धी कानूनका विषयमा राखेको कार्यक्रममा बोल्दै मन्त्री यादवले जनतामा मन्त्री देखि कर्मचारी, व्यापारी सवैप्रति नकारात्मक धारण बनेको बताए ।
उनले मन्त्री काममा नलाग्ने, कर्मचारी घुष खाने र व्यापारी कालोबजारी गर्ने भन्ने धारणा नागरिकको बनेको भन्दै त्यसलाई सुधार्न सबै लाग्नुपर्ने बताए ।
उद्योगी शेखर गोल्छाले सरकारले प्रतिवर्ष पाँच लाखलाई रोजगारी दिने र आर्थिक बृद्धि ८ प्रतिशत पु-याउने लक्ष्य राखेपनि निजी क्षेत्रसँग पर्याप्त सहकार्य नगरेको बताए । उनले सरकार जिम्मेवार नभएसम्म निजी क्षेत्र मर्यादित नहुने भन्दै सरकारले नै आफ्नो शैलीमा सुधार ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघका प्रतिनिधिले प्रस्तावित कानुनका केहि बुँदा आपत्तिजनक भएको भन्दै एउटाको हक सुरक्षीत गर्न अर्काको हक छिन्ने आसय त्यसमा रहेको बताए । मन्त्री श्रेष्ठले राम्रो काम गर्नेलाई कसैले पनि अप्ठेरो नपार्ने भन्दै गल्ती गर्नेहरु बच्न नसक्ने बताए ।