राजपाले चुनावमा भाग लिने वा नलिने भन्ने निर्णय लिन अझै सकेन

कठमाडौं, ७ भदौ । राष्ट्रिय जनता पार्टी, नेपालले चुनावमा जाने कि नजाने भन्ने निर्णय लिन अझै सकेको छैन । राजपाले चुनावमा जाने वा नजाने भन्ने निर्णय गर्ने अधिकार पार्टीको अध्यक्ष मण्डललाई दिएको छ ।

 

पार्टी पदाधिकारीको बुधबार सम्पन्न बैठकले निर्वाचनमा जाने कि नजाने भन्ने ठोस निर्णय लिने अधिकार पार्टी अध्यक्ष मण्डललाई दिएको हो ।

 

अध्यक्ष मण्डललाई पार्टीको चुनाव चिन्ह, प्रदेश नम्बर २ को निर्वाचनमा उम्मेदवार चयन गर्ने विधि र घोषणा पत्र तयारी समिति बनाउने जिम्मेवारी पनि दिइएको पार्टीका नेता केशव झाले दिए ।

 

दुई दिनसम्म बसेको पार्टीको पदाधिकारी बैठकमा अधिकांश नेताहरुले संविधान संशोधन प्रस्ताव फेल हुनुको कारण जनतालाई बुझाउन पनि निर्वाचनमा जानैपर्नेमा जोड दिएका थिए ।

 

राष्ट्रिय जनता पार्टीका नेताहरुले एमालेकै कारण संविधान संशोधन विधेयक पारित नभएको सन्देश लिएर जनतामा जान पनि निर्वाचनमा भाग लिन उपयुक्त हुने धारणा राख्दै आएका छन् ।

 

विहिबार बस्ने अध्यक्ष मण्डल बैठकले पार्टी निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा ठोस धारणा तय गर्ने पनि नेता झाले बताए । पार्टीले यस अघि नै संविधान संशोधन विधेयक फेल भएपनि निर्वाचनमा जाने प्रतिवद्धता व्यक्त गरिसकेको छ ।