कहिले बन्छ सडक ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कहिले बन्छ सडक ?

kapan sadak

काठमाडौं, २३ भदौ । दुई वर्षदेखि बूढानीलकण्ठ नगरपालिका ४, कपन क्षेत्रका स्थानीयको एउटै प्रश्न सामना गरिरहेका छन्– ‘सडक कहिले बन्छ ?’ निर्माण सुरु भएको दुई वर्षसम्म सडक बनेको छैन । कतै माटो थुपारेर सडक साँघुरिएको छ, कतै पानी जम्ने खाल्टाखुल्टी बनाएर अलपत्र छाडिएको छ ।

हिलाम्मे सडकको पानी गाडीले उछिट्याएर कहिले त घर–पसलभित्रै पुर्‍याउँछन् । गाडी भासिएका र मोटरसाइकल चिप्लिएका दृश्य नौला लाग्दैनन् ।

स्थानीयको पटक–पटकको गुनासो र प्रश्न सुनेपछि सांसद थापाले निर्माण नसक्ने ठेकेदारलाई कारबाही माग गर्दै डिभिजन सडक कार्यालय मीनभवनमा निवेदन पनि दिए । तर न ठेकेदारलाई कारबाही भयो न काममा कुनै प्रगति । स्थानीयवासी वडा र नगरपालिका पनि पुगे । दैनिक आवतजावतसँगै व्यवसायमा पनि असर परेको उनीहरूको गुनासो छ । कतिले त यो क्षेत्रबाट पसलसमेत अन्यत्रै सारिसकेका छन् ।

बूढानीलकण्ठ नगरपालिकाभित्र सडकका १२ योजना ठेक्का भएका छन् । तीमध्ये अधिकारीले तीनवटा सडकको ठेक्का लिएका छन् । तर, तीनवटै सडकको समय सकिए पनि काम सकिएको छैन । १२ मध्ये ५ वटाको मात्रै काम सकिएको छ ।

अधिकारीले ठेक्का लिएको खण्ड हो, आकाशेधारा–राम मन्दिर–कृष्ण मन्दिर । ६ करोड ५५ लाखमा ०७३ असार ३१ मा उनले यसको ठेक्का लिएका थिए । २०७४ असोज ३० मा यसको समय सकियो । समय सकिए पनि डिभिजन सडक कार्यालयका अनुसार काम भने जम्मा ३० प्रतिशत मात्र भएको छ ।

उनले लिएको अर्को ठेक्का हो, सुन्दरबस्ती–आदर्शनगर–चुनीखेल टुपेक–टुसाल । यसको समय २०७४ साउन २० मै सकियो । अधिकारीको सैलुङले ठेक्का लिएको अर्को सडक साततले–भण्डारी गार्मेन्टको पनि समय सकिइसकेको बूढानीलकण्ठका मेयर उद्धवप्रसाद खरेल बताउँछन् ।

मेयर खरेल पटक–पटक भन्दा पनि ठेकेदार शारदा अधिकारीले कुरै नसुनेको गुनासो गर्छन् । ‘अधिकारीले कसैलाई टेर्दैनन् । सबै सडकको सम्झौता सकियो तर सडक हिँडिसाध्य छैन,’ खरेलले भने, ‘यो सबै निर्माण व्यवसायीको बेइमानीले गर्दा भएको हो, फकाइफुलाई काम लगाउनुपर्ने बाध्यता छ ।’ अधिकारीलाई ठूला नेताहरूको संरक्षण भएकाले पनि नसुनेका हुन सक्ने अनुमान मेयर खरेल गर्छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);