सडक र नालीको बीचमा अर्को नाली | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सडक र नालीको बीचमा अर्को नाली

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका-४ ननमहरा गाउँ जाने पिसिसी सडक हेर्दा अचम्मको दृश्य देखिन्छ । गत वर्ष गाउँ छिर्ने सडक निर्माण गरियो । जहाँ सुकै सडक निर्माण गर्दा नालीसँगै बनाउने गरिन्छ । तर, उक्त सडकमा दुवै छेउमा एक मिटर खाली राखेर नाली निर्माण गरिएको छ ।

पालिकाको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको संरचनामा त्रुटिका कारण स्थानीयले सास्ती खेप्नु परेको छ । योजना कार्यान्वयनको समयमा  स्थानीयको विवादका कारण काम गर्न समस्या आएको महाराजगन्ज नगरपालिका वडा नम्बर-४ का अध्यक्ष सुशीलकुमार चौधरीले बताए ।

योजना सञ्चालन गर्दा राजनीतिक विवादका कारण निर्माणमा समस्या भएको स्थानीयको गुनासो छ । नगरप्रमुख अब्दुल कलाम र तत्कालीन प्रदेश सभा सदस्य ( हाल राष्ट्रिय सभा सदस्य) दृघनारायण पाण्डेय समर्थित अगुवाबीचको विवादले समस्या सिर्जना भएको स्थानीय बताउँछन् । 

पालिकाले १७ लाख ४९ हजार ७ सय ८६ को लागतमा प्रिन्स निर्माण सेवा लुम्बिनी सांस्कृतिक नगरपालिका-१० लाई कामको ठेक्का दिएको थियो । तर, वस्तीभित्र रहेको साँघुरो सडक विस्तारमा विरोध गरेपछि पिसिसि मात्र गरिएको थियो । मूल्यांकनपछि बचेको रकमबाट कोटेसन लिई नाली निर्माण भएको चौधरीले बताए ।

गाउँ छिर्ने नालीकै कारण बालबालिका दुर्घटनामा पर्ने गरेको स्थानीय अभिशेख यादवले गुनासो गरे । पालिकालाई मर्मतको लागि आग्रह गर्दा चासो नदिएको स्थानीयको आरोप छ ।

यता विवाद समाधान नगर्दा पिसिसी भएका सडकका चौडाइ फरक-फरक भएका छन् । सडक कतै तीन मिटर चौडा छन् भने कतै ५ मिटर छ । नाली बनाउने काम सम्पन्न भए पनि ठेकेदारले ज्याला नदिएको श्रमिकको गुनासो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);