निर्मला हत्याकाण्ड : प्रमाण नष्ट हुँदा अनुसन्धानमा गाह्रो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

निर्मला हत्याकाण्ड : प्रमाण नष्ट हुँदा अनुसन्धानमा गाह्रो

Amba_bot_nirmala panta

कञ्चनपुर, १६ भदौ ।  नयाँ आएको प्रहरीटोलीले एक महिनापछि निर्मला पन्त हराएको घरका रोशनी बम र बबिता बमलाई पक्राउ गरेर नयाँ शिराबाट अनुसन्धान थालेको छ। यसअघि स्थानीय र आफन्तले दबाब दिँदा समेत प्रहरीले बम दिदीबहिनीलाई पक्राउ गर्न आनाकानी गरेको थियो। बम दिदीबहिनीबाट घटनाको रहस्य खुल्ने आशा स्थानीयले गरेका थिए।

अघिल्लो शुक्रबार पक्राउ गरिएका बम दिदी बहिनीमध्ये रोशनीको सरकारी वकिल कार्यालयमा बयान भइसकेको छ भने बबिताको बाँकी छ। रोशनीले निर्मलाको हत्यामा आफूहरुको संलग्नता नरहेको र दिउँसो सबा २ बजे निर्मला आफ्नो घरबाट निस्केको बयान दिएकी छिन्। बम दिदीबहिनीको बयानबाट घटनाबारे तथ्य नखुलेमा प्रमाण धेरै नष्ट भइसकेकाले प्रहरीलाई अनुसन्धान गर्न जटिल देखिएको छ।

अम्बाको बोट काटिनु शंकास्पद

निर्मलाकी साथी रोशनीको बारीमा रहेको अम्बाको बोट काटिनुमा पनि धेरैले शंका उत्पन्न गरेका छन्। निर्मलाको साइकल र किताब भेटिएको ठाउँमा प्लास्टिकको झोलामा अम्बा भेटिएका थिए। घटनाको अघिल्लो दिन (साउन ९ गते) निर्मलाको घरमा पुगेकी रोशनीले अम्बा खान र विज्ञानको गृहकार्य गर्न भन्दै साउन १० गते आफ्नो घर बोलाएकी थिइन्।

निर्मलाको साइकल भेटिएको स्थानमै किताब, कापी र डटपेनसँग एक प्लास्टिकको झोलामा अम्बा भेटिएको बताउँदै उनका बुबा यज्ञराज पन्त भन्छन्, ‘निर्मलाको शवसँगै अम्बाका दाना भेटिनु र रोशनीको आँगनअगाडिको अम्बाको बोट काटिनुले पनि हामीलाई बम दिदीबहिनीप्रति शंका छ।’ सिजनको अम्बाको रुख नकाटिनुपर्ने उनी बताउँछन्। रोशनीको आँगनमा लटरम्म फलेको अम्बाको बोट निर्मलाको शव भेटिएको ६ दिनपछि फेदैदेखि काटिएको थियो।

मानसिक सन्तुलन गुमेनगुमेको व्यवहारले थाहा हुन्छ
प्रहरीले पक्राउ परेका बिष्टलाई मानसिक सन्तुलन गुमेनगुमेको जाँच गर्न काठमाडौं पठाएको छ। चिकित्सकहरु कुनै व्यक्तिको मानसिक सन्तुलन गुमे वा नगुमेको कुरा जाँच्ने आधार भनेकै व्यवहार भएकाले घरपरिवार र आफन्तबाट बढी खुल्ने बताउँछन्। मानसिक रोग विशेषज्ञ टनविर अहमद खानले मानसिक सन्तुलन गुमेको जाँच्ने कुनै प्रविधि नभएको बताउँदै भने, ‘यो व्यक्तिको बानी र व्यवहारबाट थाहा हुने कुरा हो।’

बालिका बलात्कारमा शक्तिशाली व्यक्तिको संलग्नता भएकाले एक महिनासम्म आन्दोलन हुँदा पनि स्थानीयको कुराको सुनुवाइ नभएको, आन्दोलन हिंसात्मक भएपछि मात्र प्रहरी प्रमुख निलम्बन गरी फेरिएको भन्दै कञ्चनपुरबासी अझै पनि दोषी पत्ता लाग्नेमा ढुक्क हुन नसकेको बताउँछन्। ‘निर्मलाको हत्यारा शक्तिशाली छ, दोषी पत्ता लाग्छ भन्नेमा हामी भने ढुक्क हुन सकेका छैनौं,’ स्थानीय सन्तोष भट्ट भन्छन्। मानसिक सन्तुलन गुमे वा नगुमेको जाँच्न काठमाडाैं शिक्षण अस्पताल महाराजगन्ज पठाएपछि दिलीपसिंह बिष्टलाई नै दोषी देखाउनतिर प्रहरी लागेको हो कि भनेर स्थानीयले आशंका गरेका छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार