घर भत्किँदा परिवारका पाँच पुरिए | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

घर भत्किँदा परिवारका पाँच पुरिए

ghar vatkiyo

सुर्खेत, १४ भदौ । सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका–४ सेतोगुराँसमा दलिन भाँचिएर मंगलबार घर भत्केको हो।

घटनामा ३५ वर्षीय रामकला कामी, उनका पति रामसिं कामी, छोरीहरू सात वर्षीया गंगा, छ वर्षीया प्रमिला र छोरा चार वर्षीय रूपलालको मृत्यु भएको प्रहरीले जनाएको छ। ९ वर्षीया छोरी सुनिता भने बाँच्न सफल भएकी छन्। परिवारका सदस्यहरू खाना खाएर राति घरको माथिल्लो तलामा सुतेका थिए। साढे ९ बजे दलिन भाँचिएपछि उनीहरू भुइँ तलामा खसे। सँगै ढलेको पर्खालमा पाँचै जना च्यापिएका हुन्।

बस्तीभन्दा टाढा एकान्तमा घर भएका कारण छिमेकीले समयमै उद्धार गर्न नसकेको सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए। बाँच्न सफल सुनिताले गाउँमा पुगेर गुहार मागेपछि मात्रै स्थानीय र प्रहरीले थाहा पाएका थिए। तल्लो गाउँमा बस्ने हजुरबुबा देवीराम कामीलाई सुनिताले नै खबर गरेकी थिइन्। मजदुरी गरेर जिविका चलाउँदै आएको यो परिवारले सात वर्षअघि ऋण सापटी गरेर घर बनाएको थियो।

रामसिंले भारतमा मजदुरी गर्थे। ‘छोराले दुःख गरेर घर बनाएको थियो, दैवले पनि हामीमाथि अन्याय गर्‍यो’, देवीरामले भने, ‘यो घर मन्दिरजस्तै थियो, आज चिहान बन्यो। दुःखले बनाएको घर नै काल बनिदियो।’ एकान्तमा राति घटना भएका कारण उनीहरूलाई जीवितै उद्धार गर्न नसकिएको स्थानीय महेशकुमार वलीले बताए। ढिलाइ हुँदा निस्सासिएर उनीहरूको मृत्यु भएको प्रहरीको अनुमान छ।

‘हामी खाना खाएर सुतेका थियौं, एक्कासि भाइ रोएको आवाज आयो। उसलाई पर्खालले च्यापेको थियो’, सुनिताले भनिन्, ‘ऊ बचाऊ भन्दै चिच्यायो तर मैले बचाउँन सकिन।’ घटनाको जानकारी पाएलगत्तै सीमाखोली इलाका प्रहरी कार्यालयबाट राति नै प्रहरी घटनास्थलमा पुगेको थियो। प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल र डीएसपी शाहीसहितको टोली बुधबार घटनास्थल पुगेर जानकारी लिएको छ।

डीएसपी शाहीका अनुसार जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई किरिया खर्च एकलाख रूपैयाँ हस्तान्तरण गरेको छ। यस्तै बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले पनि पीडित परिवारलाई राहत उपलब्ध गराउने बताए। उनले घटनामा बाँच्न सफल बालिकाको शिक्षाका लागि पनि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);