ओमानको खाडीमा अमेरिकी सेनाद्वारा इरानी तेल ट्याङ्कर नियन्त्रणमा लिई खानतलासी | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

ओमानको खाडीमा अमेरिकी सेनाद्वारा इरानी तेल ट्याङ्कर नियन्त्रणमा लिई खानतलासी

ओमानको खाडीमा अमेरिकी सेनाले इरानी झण्डावाहक एक व्यापारिक तेल ट्याङ्करलाई नियन्त्रणमा लिई खानतलासी गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्ट्रकम) ले बुधवार सो जानकारी दिएको हो । सेन्ट्रकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिअनुसार, अमेरिकी ३१ औँ मरिन एक्सपिडिसनरी युनिटका मरिन कमान्डोहरूले एमटी सेलेस्टियल सी नामक तेल ट्याङ्करमा बोर्डिङ गरी खानतलासी गरेका हुन् । उक्त जहाजले अमेरिकी नाकाबन्दीको उल्लंघन गर्दै इरानी बन्दरगाहतर्फ जान खोजेको आशंका गरिएको थियो । अमेरिकी सेनाले जहाजको खानतलासी गरेपछि चालक दललाई मार्ग परिवर्तन गर्न निर्देशन दिँदै सो ट्याङ्करलाई मुक्त गरिदिएको छ । सेन्ट्रकमले नाकाबन्दीलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने क्रममा हालसम्म ९१ वटा व्यापारिक जहाजहरूको मार्ग परिवर्तन गराइएको समेत उल्लेख गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ स्थगित गरे पनि जारी युद्धविरामका क्रममा इरानविरुद्धको वृहत्तर नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहने बताउनुभएको थियो । यता इरानले भने अमेरिकी नौसैनिक कारबाहीलाई अन्तर्राष्ट्रिय कानुन विपरित र अवैध भन्दै निरन्तर निन्दा गर्दै आएको छ । विश्वको ऊर्जा आपूर्तिका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिने ओमानको खाडीले अरब सागर र हर्मज जलडमरूमध्यलाई जोड्ने गर्दछ ।

Leave a Reply