अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाली क्रान्तिका नेता राउल क्यास्त्रो विरुद्ध अमेरिकी अदालतमा अभियोग दर्ता भएपनि क्युवासँगको तनाव नबढ्ने बताउनुभएको छ । क्यारिबियन क्षेत्रमा अमेरिकी विमानवाहक युद्धपोत पुगेको र क्यास्त्रोमाथि अभियोग लागेको पृष्ठभूमिमा ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । बुधवार सञ्चारकर्मीहरूसँग बोल्दै राष्ट्रपति ट्रम्पले तनाव नबढ्ने बताउनु भयो । त्यसको आवश्यकता नै नरहेको उहाँको भनाइ छ । अमेरिकी साउदर्न कमान्डले निमिट्ज क्यारियर स्ट्राइक ग्रुप क्यारिबियन क्षेत्रमा आइपुगेको घोषणा गरेलगत्तै ट्रम्पको यो टिप्पणी सार्वजनिक भएको हो । उक्त स्ट्राइक ग्रुपमा विमानवाहक युद्धपोत, एयर विङ र कम्तीमा एउटा गाइडेड–मिसाइल डिस्ट्रोयर संलग्न छन् ।
ट्रम्प प्रशासनले पछिल्लो समय क्युबामाथिको प्रतिबन्धलाई थप कडा बनाएको छ । यसले गर्दा टापु राष्ट्र क्युवामा इन्धन आयातमा अवरोध सिर्जना भएको छ भने मुलुकले गम्भीर ऊर्जा संकट र राष्ट्रव्यापी लोडसेडिङको सामना गरिरहेको छ । यसअघि राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध समाप्त भएपछि अमेरिकी सैन्य कारबाहीको अर्को निशाना क्युवा हुनसक्ने संकेत समेत दिनुभएको थियो ।
यता, राउल क्यास्त्रो विरुद्धको अमेरिकी अभियोगलाई क्युवाली राष्ट्रपति मिगुएल डियाज–कानेलले राजनीतिक चालबाजीको संज्ञा दिनुभएको छ । राष्ट्रपति डियाज–कानेलले क्युवामाथि हुने कुनैपनि अमेरिकी सैन्य आक्रमणले ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको शान्ति र स्थिरतामा गम्भीर असर पार्ने र यसको परिणाम भयावह हुने चेतावनी समेत दिनुभएको छ ।




